आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट समानुपातिकतर्फ विभिन्न राजनीतिक दलले १७ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन्। ठुला दलदेखि साना तथा वैकल्पिक राजनीतिक शक्तिसम्मले ताप्लेजुङका स्थानीय अनुहारलाई प्राथमिकतामा राख्दै सूची सार्वजनिक गरेका हुन्। नेपाली कांग्रेसबाट ताप्लेजुङकी गीताकुमारी सेन्दाङ बन्दसूचीमा परेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यस जिल्लाबाट मिंमा ग्याबु शेर्पा, रमेश प्रसाईं र निर्मला खिम्दिङलाई समानुपातिक सूचीमा राखेको छ । संयुक्त नागरिक पार्टीमार्फत ताप्लेजुङकी आइतरानी लिम्बू बन्दसूचीमा समेटिएकी छिन्।
नेपाल संघीय समाजवादी पार्टीले ‘एकल चुनाव चिह्न बस’ लिएर ताप्लेजुङकी अनिता थोक्लिहाङ (खड्का) लाई सूचीमा समावेश गरेको छ। जनता पार्टीबाट रामकुमारी लिम्बू, सार्वभौम नागरिक पार्टीबाट ताप्लेजुङकै प्रतापसिंह लिम्बू बन्दसूचीमा परेका छन्। वामपन्थी धारतर्फ नेपाली कम्युनिस्ट पार्टीले रामचन्द्र पोपुलाई तथा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले पोलहाङ साम्सोहाङलाई समानुपातिक सूचीमा राखेको छ। संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले ताप्लेजुङबाट रामबहादुर लिम्बू (मादेन), देउबहादुर लिम्बू, काजीमान ओख्राबु, अमृता गुरुङ र ललिता लिम्बू गरी पाँचजनालाई बन्दसूचीमा समेटेको छ।
यस्तै, राष्ट्रिय जनमुक्ति पार्टी नेपालले ‘एकल चुनाव चिह्न चकिया जाँतो’ लिएर सञ्जुकुमार पालुङ्वालाई सूचीमा राखेको छ। नेपाल जनमुक्ति पार्टीबाट प्रेमकुमार लिम्बू तथा जनता समाजवादी पार्टीबाट अञ्जना शेर्पा समानुपातिक उम्मेदवारका रूपमा सूचीमा परेकी छिन्। समानुपातिक बन्दसूचीमा ताप्लेजुङबाट विभिन्न जातीय, क्षेत्रीय र राजनीतिक पृष्ठभूमिका उम्मेदवार समेटिनुले जिल्लाको प्रतिनिधित्व राष्ट्रिय राजनीतिमा फराकिलो हुने अपेक्षा गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा दलहरू प्रचार–प्रसार र आन्तरिक तयारीमा केन्द्रित हुँदै गएका छन्।