प्रतिनिधिसभामा उम्मेदवार बन्न प्रदेशका १३ सांसदले दिए राजीनामा

नेकपाका पाँच, एमालेका तीन, राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत र रास्वपाका एक–एक प्रदेश सांसद संघमा भिड्दै

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
  • कांग्रेसका कुन्दनराज काफ्लेले बागमती प्रदेश सांसदबाट सोमबार राजीनामा दिएका थिए तर, उनले टिकट पाएनन्

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न १३ प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशका ५, मधेशका चार, लुम्बिनीका तीन र सुदूरपश्चिम प्रदेशमा एक गरी १३ जनाले राजीनामा दिएका हुन् । यसरी राजीनामा दिनेमा नेकपाका पाँच, एमालेका तीन, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, लोसपा र जनमतबाट एक/एकजना छन् ।

आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न बागमती प्रदेश सभाका ५ सांसदले राजीनामा दिएका छन् । कांग्रेस, एमाले, राप्रपा र नेकपाका सांसदहरूले संघीय संसद्मा प्रतिस्पर्धा गर्ने तयारीसँगै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश सभा सचिवालय हेटौँडाका अनुसार सोमबार पाँचजना सांसदले इमेलमार्फत राजीनामापत्र दर्ता गराएका छन् । एकजना सांसदले प्रदेश सभा उपसभामुख अप्सरा चापागाईंलाई भेटेर राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा एमाले र नेकपाबाट दुई–दुईजना तथा कांग्रेस र राप्रपाबाट एक–एक सांसद छन् ।

उम्मेदवार बन्न कांग्रेसका कुन्दनराज काफ्लेले बागमती प्रदेश सांसदबाट सोमबार राजीनामा दिएका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई दोलखाबाट उम्मेदवार बनाएको छ । राप्रपाका प्रदेश सांसद काठमाडौं २ (क)बाट निर्वाचित सुनील केसीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाबाट काठमाडौं २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने भएका छन् । पूर्वमेयर बालेन्द्र शाह (बालेन)को टिमको समर्थनमा रास्वपाले केसीलाई टिकट दिएको हो । प्रदेश सभा सदस्य रहँदा उनको भूमिका कमजोर देखिएको भन्दै आलोचना हुँदै आएको थियो । 

नेकपाका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन् । ०७४ र ०७९ गरी दुईपटक प्रदेश सभा सदस्य निर्वाचित दुलाललाई नेकपाले सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनाएको छ । आइतबार टिकट पाएपछि कार्यव्यस्तताका कारण प्रदेश सभा सचिवालय हेटौँडा पुग्न नसकेका दुलालले इमेलमार्फत राजीनामापत्र पठाएका हुन् । ०७४ र ०७९ मा प्रदेश सभा सदस्य निर्वाचित वसन्त मानन्धरले पनि इमेलमार्फत राजीनामा दिएका छन् । ०७४ मा एमाले र ०७९ मा एकीकृत समाजवादीबाट काठमाडौं ७ (क)बाट निर्वाचित मानन्धर हाल नेकपामा आबद्ध छन् । उनी काठमाडौं ७ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । 

एमालेका दुईजना प्रदेश सांसदहरूले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रदेश सभा सदस्य तथा पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ छन् । काठमाडौं ७ (ख) बाट ०७४ र ०७९ मा निर्वाचित श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि पदबाट हटेका हुन् । एमाले अध्यक्ष केपी ओलीले उनलाई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्य पदको टिकट दिएका छन् । 

पूर्वमन्त्री तथा एमाले सांसद अमनकुमार मास्केले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौं ६ (ख)बाट निर्वाचित मास्केले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन राजीनामा दिएका हुन् । उनी आगामी निर्वाचनमा काठमाडौं ६ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् । 

मधेश प्रदेशका चार सांसदले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा जनमत, एमाले र नेकपाका सांसद छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न उनीहरूले राजीनामा दिएका हुन् । मधेशका पूर्वमुख्यमन्त्री एवं जनमतका सांसद सतीश सिंहले राजीनामा दिएका छन् । उनले जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् । उनले आफ्नो दाजु सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् । गत ०७९ को निर्वाचनमा उनी सप्तरी २ (क)बाट जनमतबाट विजयी भएका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिको सभापति र पछि मुख्यमन्त्री बनाएको थियो ।

जेन–जी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले फेसबुकबाट राजीनामा दिएका थिए । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसवेलादेखि पार्टीभित्र उनको कुरा मिलेको थिएन । सिंह ०७४ देखि ०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष थिए ।

यस्तै, मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामापत्र बुझाएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका मण्डल धनुषा १ बाट उम्मेदवार बन्दै छन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । अन्सारी सोमबार रास्वपा प्रवेश गरे । उनी बारा ४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । 

महोत्तरी १ (ख)का सांसद भरत साहले राजीनामा दिएका छन् । तत्कालीन माओवादीबाट चुनाव जितेका साह प्रतिनिधिसभा चुनाव लड्न भन्दै प्रदेश सभामुख रामअशिष यादवलाई राजीनामा बुझाएका छन् । उनले नेकपाबाट महोत्तरी ४ मा टिकट पाएका छन् ।

लुम्बिनी प्रदेशका तीन सांसदले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न उनीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेकपाका छन् । रुपन्देही ४ (क)मा तत्कालीन लोसपाबाट निर्वाचित कन्हैया बानियाँले राजीनामा दिएका छन् । उनलाई रास्वपाले रुपन्देही ४ मा टिकट दिएको छ ।

यस्तै, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले राजीनामा दिएका छन् । बर्दिया २ (ख)बाट चुनाव जितेका उनलाई उज्यालो नेपाल पार्टीले बर्दिया २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । यस्तै, नेकपाका सांसद धनबहादुर मास्कीले पनि पदबाट राजीनामा दिएका छन् । दाङ ३ (ख)बाट चुनाव जितेका मास्कीलाई नेकपाले दाङ ३ मा उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पदबाट राजीनामा दिएका छन् । जोशी रास्वपाबाट डडेल्धुराबाट चुनाव लड्दै छन् । सुदूरपश्चिम प्रदेश सभाका साभमुख भीमबहादुर भण्डारीले जोशीको राजीनामापत्र आएको बताए । जोशी डडेल्धुरा (२)बाट स्वतन्त्र उम्मेदवारी दिएर गत चुनावमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हालै उज्यालो नेपाल पार्टीमा जोडिएका जोशी उज्यालो र रास्वपाबिचको एकता टुटेपछि रास्वपामै रहेका थिए । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेले चक्रप्रसाद स्नेही र नेपाली कम्युनिस्ट पार्टीले मानसिंह माललाई उम्मेदवार बनाएका छन् । कांग्रेसले भने सोमबार रातिसम्म उम्मेदवारको टुंगो लगाइसकेको छैन । डडेल्धुरामा देउवाले ०४८ सालयताका हरेक संसदीय चुनाव जित्दै आएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि पनि मैदानमा
स्थानीय तहका जनप्रतिनिधि पनि संघीय चुनावमा होमिएका छन् । देशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । जसमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेन, भरतपुर महानगर प्रमुख रेनु दाहाल, धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङ राईलगायत छन् । बालेन र राईले आइतबार नै पदबाट राजीनामा दिएका छन् । दाहालले मंगलबार उम्मेदवारी दर्ता गर्नेबेला राजीनामा दिने भएकी छन् । बालेन प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा रास्वपाबाट उम्मेदवार बन्दैछन् । दाहाललाई नेकपाले चितवन ३ बाट उम्मेदवार बनाएको छ । धरान उपमहानगर प्रमुख ०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष राई सुनसरी १ बाट उम्मेदवारी बन्दै छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा बाँके २ बाट उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । त्यस्तै, कैलाली १ मा नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पदबाट सोमबार राजीनामा दिएका छन् । इलामको सूर्योदय नगरपालिका प्रमुख प्रतिनिधिसभाको उम्मेदवार बन्दैछन् । उनलाई नेकपाले इलाम १ बाट उम्मेदवार बनाउने भएको छ । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पदबाट राजीनामा दिएकी छिन् । उनलाई एमालेले ओखलढुंगाबाट उम्मेदवार बनाएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उठ्ने भएका छन् । उनले उदयपुर २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । 

मकवानपुरमा पोष्टराज अधिकारी, राजविराजमा सौरभ यादव, उदयपुरमा विदुर कटुवाल, बाँकेमा विश्वराज पछल्डङ्ग्या

सुझावित समाचार