आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट मात्रै पाँचजना उम्मेदवार विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिने भएका छन् ।
देशका ठूला दलमध्ये एमालेले यसपटक उप–महासचिव योगेशकुमार भट्टराईलाई टिकट नदिई केन्द्रीय सदस्य क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । एमालेबाट क्षितिज थेबे उम्मेदवार बनेसँगै सिरिजंघा गाउँपालिकाबाट पाँचजना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।
एमाले उम्मेदवार थेबे सिरिजंघा गाउँपालिका–१ सिनामका स्थायी बासिन्दा हुन् । यस्तै, कांग्रेसबाट गजेन्द्र तुम्याहाङ उम्मेदवार बनेका छन् । उनी सोही गाउँपालिकाको वडा नम्बर ७ खेवाङका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट खेलप्रसाद बुढाक्षेत्री (पराग) उम्मेदवार बनेका छन् । उनी सिरिजंघा गाउँपालिका–५ खेवाङका बासिन्दा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार भएका छन् । श्रेष्ठ पनि वडा नम्बर १ सिनामकै हुन् ।
यसैगरी, राष्ट्रिय श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बनेका छन् । उनी सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका हुन् ।
एकै गाउँपालिकाबाट विभिन्न दलका पाँचजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिन लागेपछि सिरिजंघा क्षेत्रको राजनीतिक माहोल चासोपूर्ण बनेको छ । स्थानीयस्तरमा उम्मेदवारहरूको गतिविधि बढ्दै गएको छ ।
निर्वाचनलाई लक्षित गर्दै दलहरूले संगठन विस्तार, घरदैलो र प्रचार–प्रसारलाई तीव्र बनाउन थालेका छन् ।