उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा आगामी २३ माघदेखि हुने लागेको उदयपुर महोत्सव ०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गजेन्द्र भगवतले १५ दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा नदी किनारमा आयोजना हुने महोत्सव उदयपुरको समग्र आर्थिक–सांस्कृतिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत हुने संघका अध्यक्ष भगवतको भनाइ छ । उनले भने, ‘यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम होइन, उदयपुर जिल्लासहित कोशी प्रदेशको किसान, उद्योगी, व्यवसायी र उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च हो ।’
महोत्सवमा २०० वटा स्टल रहनेछन् । जसअन्तर्गत होटल स्टल, अटोमोबाइल स्टल र विभिन्न व्यावसायिक स्टल रहनेछन् । आयोजकका अनुसार दैनिक करिब २० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ ।
उनले भने, ‘महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने र उदयपुरको पर्यटन तथा व्यापारिक पहिचानलाई राष्ट्रिय
स्तरमा पुर्याउने विश्वास लिएका छौं ।’
महोत्सव अवधिभर कृषि तथा घरेलु उद्योग प्रदर्शनी, महिला तथा युवा उद्यमीका स्टल, पर्यटन प्रवर्द्धन कक्ष, खाद्य परिकार क्षेत्र, शैक्षिक
सामग्री प्रदर्शनी, विभिन्न प्रतियोगिता, बाल उद्यान, सेल्फी पार्क, मनोरञ्जनात्मक खेल तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको
प्रस्तुति समावेश गरिनेछ ।
आयोजकका अनुसार बलिउड मेगा स्टार विनोद राठोडलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । महोत्सव अवधिभर न्युरो अस्पताल विराटनगरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणका लागि १५०, विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई
निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिइएको छ ।