२१ फागुनमा हुने निर्वाचनमा मनोनयन दर्ताका गर्न एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा आउने भएका छन् ।
०४८ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र झापा ५ मा ओली सोमबार आउन लागेका हुन् । मंगलबार हुने मनोनयनका लागि उनी झापा आउने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।
केहीबेरमा उनी झापाको चन्द्रगढी विमानस्थल आइपुग्ने उनले बताए । त्यसपछि उनी सिधै गृहनगर दमक आउनेछन् । जेन–जी आन्दोलनका क्रममा उनले अघिल्लो निर्वाचनका क्रममा भाडामा लिएको घर आगजनी भएपछि ओली दमकस्थित होटेल कामक्षमा बस्ने एमालेले जनाएको छ । उनले त्यहीँ राजनीतिक भेटघाट गरेर मनोनयनपछि काठमाडौं फर्कनेछन् । ओली आएपछि प्रेस चौतारी नेपाल झापाले दिउँसो २:३० मा पत्रकार सम्मेलन राखेको छ । ओली जेन–जी आन्दोलनपछि पहिलोपटक झापा आउन लागेका हुन् । गत असार अन्तिम सातायता ओली गृहजिल्ला झापा आएका थिएनन् ।
ओलीको परम्परागत निर्वाचन क्षेत्रमा बालेन आउने भएपछि यो निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ । यो निर्वाचन क्षेत्र एमाले अध्यक्ष ओलीको आधारक्षेत्र हो । ०४८ यताको सबै निर्वाचनमा ओलीले प्रतिस्पर्धा गरेका छन् । ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा यहाँबाट ओलीले निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् भने ०६४ मा पराजित हुँदै ६ पटक संसदमा प्रतिनिधित्व गरेका छन् । यसपटक भने ओलीको निर्वाचन क्षेत्रमा बालेनले चुनौती दिएका हुन् ।
एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने बालेनलाई पनि रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । यी दुई प्रधानमन्त्री उम्मेदवारबिचको चुनावी प्रतिस्पर्धा हुने निश्चित भएपछि झापा ५ मा राजनीतिक सरगर्मी गर्माएको छ । बालेन पनि सोमबार नै झापा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मधेश प्रदेशमा हुने कार्यक्रममा सहभागी भएर बालेन सोमबार रातिसम्म झापा आइपुग्ने जनाइएको छ । बालेन भने दमक ५ स्थित विन्दु सिटौला (लक्की)को घरमा बस्नेछन् । बालेनका लागि घर धमाधम तयार पारिँदै छ ।