सरकारले २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि स्रोत जुटाउन खडा गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म १४ करोड सात लाख रुपैयाँ जुटेको छ । पुनर्निर्माणका लागि भन्दै व्यक्ति र संस्थाहरूले आफूखुसी कोष बनाउँँदै पैसा उठाउन थालेपछि सरकारले यस्तो कोष बनाएको थियो । तर, कोष बनिसकेपछि भने यसमा योगदान उल्लेख्य रूपमा हुन सकेको छैन ।
सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले क्षतिको विवरणसहितको प्रतिवेदन २४ मंसिरमा सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनअनुसार कुल भौतिक क्षतिको मूल्य ८४ अर्ब ४५ करोड ७७ लाख छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालू आर्थिक वर्षको बजेटको ४.३ प्रतिशत हो ।
कुल क्षति रकममध्ये सरकारी–सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको छ । आन्दोलनका क्रममा कुल दुई हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका छन् । यसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन छन् । भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारीसाधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा दुई अर्ब ८१ करोड ३४ लाख र बाँकी रकम नौ अर्ब दुई करोड ६७ लाख अन्य अस्थायी सम्पत्ति तथा निजी सम्पत्तिमा क्षति भएको विवरण छ ।