चालू आर्थिक वर्ष ०८२/८३ मा ४.२ प्रतिशतले धानको उत्पादन घट्ने सरकारी अनुमान गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार चालू आवमा ५७ लाख पाँच हजार एक सय २३ मेट्रिकटन उत्पादन हुने देखिएको हो । गत आव ०८१/८२ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन उत्पादन भएको थियो । उन्नत बिउबिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘धानबालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालू आवमा समग्र धान उत्पादनमा कमी आएको छ ।’
धानको उत्पादनमा कमी आउँदा यसको माग भने आयातले धानिएको देखिन्छ । चालू आर्थिक वर्षको मंसिरसम्ममा एक लाख ८७ हजार नौ सय दुई मेट्रिकटन धान आयात भएको छ । जसको मूल्य ६ अर्ब ८८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ६३ हजार सात सय मेट्रिकटन धान आयात भएको थियो । जसको मूल्य ६ अर्ब पाँच करोड थियो । त्यस्तै, चालू आवको पाँच महिनामा आठ अर्ब ३६ करोडको एक लाख नौ हजार चार सय १५ मेट्रिकटन चामल आयात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ७२ करोडको ७९ हजार तीन सय ४९ मेट्रिकटन चामल आयात भएको थियो ।
आव ०८१/८२ मा धानबाली लगाइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर रहेकोमा चालू आवमा ३.८ प्रतिशतले घटेको अनुमान छ । यस्तो क्षेत्रफल १३ लाख ७६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल कायम रहेको प्रारम्भिक अनुमान छ । यसैगरी, उत्पादकत्व गत आवमा ४.१९ मेट्रिकटन प्रतिहेक्टर रहेकोमा आव ०८२/८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिकटन प्रतिहेक्टर हुन पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मुख्य गरी पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाको विदेशप्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धिले धानबालीको क्षेत्रफलमा कमी आएको मन्त्रालयको बुझाइ छ ।तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोगजस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेशमा विशेष गरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धानबालीको क्षेत्रफलमा कमी आएको हो ।’
नेपालको खाद्य सुरक्षाका लागि धानबाली एक महत्वपूर्ण बाली हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आव ०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको छ । यही कारण धानको उत्पादनसम्बन्धी आँकडा योजनाविद्, शोध तथा अध्ययन कर्ता र आमजनसमुदायको चासोको विषय रहँदै आएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धानबालीको तथ्यांक अनुमान गर्दा सातवटै प्रदेशका कृषि विषय क्षेत्राधिकार भएका प्रदेश मन्त्रालयबाट प्राप्त तथ्यांकलाई आधार लिइएको छ । धानबालीको क्षेत्रफलको अनुमान गर्दा अघिल्ला आवहरूको क्षेत्रफलसम्बन्धी तथ्यांक रोपाइँको आँकडा, सिँचाइ क्षेत्रफलमा भएको परिवर्तन, किसानसँगको अन्तर्किया, जमिनको अन्य प्रयोगमा भएको परिवर्तनलाई आधार लिइएको छ । उत्पादकत्व अनुमान गर्दा कृषि कार्यालय–कृषि ज्ञानकेन्द्र स्थानीय तह एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गरिएका बाली कटानीका तथ्यांकका आधारमा गरिएको छ । यसरी प्रदेश मन्त्रालयबाट प्राप्त तथ्यांक र यस मन्त्रालय र इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभलपमेन्ट (इसिमोड)को सहकार्यमा तयार गरिएको रिमोड सेन्सिङ २०२५ बाट प्राप्त तथ्यांकसमेतलाई ध्यानमा राखी प्रदेश मन्त्रालयसमेतको सहभागितामा ट्र्यांगुलेसन एवं भ्यालिडेसन गरी धानबालीको यो तथ्यांक तयार गरिएको मन्त्रालयले जानकारी दिएको छ ।