स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । बिमामा देखिएका समस्या समाधानमा सरकारले सहयोग नगरेको भन्दै उनले आइतबार स्वास्थ्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । सरकारले आर्थिक वर्ष ०८२/८३ को बजेट नीति तथा कार्यक्रममै हरेक महिना स्वास्थ्य बिमाको भुक्तानी गरिने भनेर घोषणा गरेको थियो । तर, चार पाँच महिनादेखिको बक्यौता अर्थ मन्त्रालयले रोकेको थियो ।
पछिल्लो समय बिमा सेवाप्रदायक संस्थाहरूलाई दिनका लागि बोर्डले ११ अर्ब रुपैयाँ सरकारसँग माग गरेको थियो । अर्थ मन्त्रालयले रकम दिन असहमति जनाएपछि काफ्लेले राजीनामा दिएका हुन् । पछिल्लो समय संघीय अस्पतालहरूले धमाधम स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेका छन् । बिमा कार्यक्रम रोक्दा सेवाग्राहीलाई मर्का पर्ने गरेको छ । तर, स्वास्थ्य मन्त्रालयले आवश्यक पहल नगर्दा सेवाग्राहीले बिमा सेवामा सास्ती खेप्नुपरेको हो ।
‘विगतका वर्षहरूदेखि परीक्षण हुन नसकी थन्किएर बसेका करिब दुई करोड दाबी समीक्षा सम्पन्न गरी भुक्तानीसमेत भएको थियो, फेरि बाँकी भुक्तानी बढ्दै गयो,’ काफ्लेले भने, ‘सरकारले बिमालाई प्राथमिकतामा राख्ने र समस्या बुझ्ने गरेको पाइएन ।’ उनका अनुसार दाबी समीक्षा समयमा नहँुदा उत्पन्न समस्या हल गर्न दाबीमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग आरम्भ भएको थियो । त्यस्तै, प्रत्येक अघिल्लो महिनाको दाबी नयाँ महिनाको १५ गतेभित्र परीक्षण गरी सक्न आधार तयार पारे पनि रकम भुक्तानी नहुँदा काम गर्न नसक्ने स्थित आएको काफ्लेले बताए ।
नेपालमा ०७२ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले ०७४ मा ऐन बनेपछि मात्रै पूर्णता पाएको थियो । तर, यो कार्यक्रमबाट सेवा लिँदा बिरामी हैरान छन् । उपचारका लागि पुगेका बिरामीहरू बिमा सेवा लिँदा थप बिरामी पर्छन् । घण्टौँसम्म लाइन लाग्नुपर्ने, सर्भर बिग्रने समस्या, महँगो र बिमामा समेटिएका सबै औषधि नपाइने, बिमा सेवा लिँदा अनेकौँ कागजात चाहिनेलगायत झन्झटका कारण बिरामी आजित हुने गरेका छन् । तर, अस्पतालहरूले भने बिमाबाट उपलब्धि गराउने उपचार सेवालाई सहज पार्नतर्फ चासो दिएका छैनन् । सरकारबाट भुक्तानी लिन बाँकी रहेको र उधारो सेवा दिनुपरेको भन्दै उनीहरूले बिरामीलाई सास्ती दिने गरेका छन् ।