सिरहाको लहानस्थित जिल्ला उद्योग बाणिज्य संघमा मुख्य पदाधिकारीसहित प्यानल नै विजयी भएको छ। संघको कार्यसमितिको अध्यक्षमा प्रदिप गुप्ता ५१३ मतान्तरले (एक हजार ७५० मत) निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी श्याम गुप्ताले एक हजार २३७ मत प्राप्त गरे।
निर्वाचन समितिले आइतबार अपराह्न घोषणा गरेको अन्तिम मत परिणामअनुसार बरिष्ठ उपाध्यक्षमा प्रदिप प्यानलका सुनिलकुमार चौधरी एक हजार ७६२ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी अजयकुमार चौधरीले एक हजार १८३ मत पाएका छन्।
त्यस्तै, बाणिज्य उपाध्यक्षतर्फ बसन्तकुमार साह एक हजार ७५० मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी विनोदकुमार साहले एक हजार १४१ मत पाए। महासचिव रविन्द्रकुमार श्रेष्ठ एक हजार ७०८ मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी मनोजकुमार महतोले एक हजार २२४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
प्रदिप प्यानलकी खुश्वु जैसवाल दुई मतान्तरले २२ मतसहित प्रतिद्वन्द्वी पशुपति साहलाई हराएर एशोसियट उपाध्यक्षमा निर्वाचित भएकी छिन्। बस्तुगत उपाध्यक्षतर्फ रामउद्गार महतो र सदस्य शंकरप्रसाद गुप्ता यसअघि नै निर्वाचित भइसकेका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए।
संघको कोषाध्यक्ष पदमा बद्रीनारायण चौधरी एक हजार ७१९ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी सत्यनारायण महतोले एक हजार २१३ मत पाए। सचिवमा अमरनाथ साह एक हजार ७१५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सकल साह रौनियारले एक हजार २०८ मत ल्याएका छन्। संघको दुई महिला सदस्यमा प्रदिप प्यानलका जानुका कुमारी पराजुली र अनुपम झासहित खुला सदस्यतर्फ बिन्देश्वर महतो, नयनकुमार यादव, वसिम अकरम, मुरारीप्रसाद साह र रामप्रकाश साह (प्रकाश) निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
संघको ३५औं वार्षिक साधारणसभा तथा २६औं अधिवेशनअन्तर्गत गत २ पुसमा उद्घाटन भई शनिबार भएको मतदानमा चार हजार ५५ मध्ये तीन हजार ६६ जनाले मतदान गरेका थिए। संघको निर्वाचन गत ५ पुसका लागि तय भएको भए पनि निवर्तमान कार्यसमितिका महासचिवसमेत रहेका अध्यक्ष पदका प्रत्याशी श्याम गुप्तासहित दुईजनाले उच्च अदालत जनकपुर राजविराज इजलाशमा मुद्दा हालेपछि स्थगित भएको २५औं दिनपछि शनिबार मतदान भएको हो।