थाइल्यान्डले नेपाललाई आठ विकेटले हरायो

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

घरेलु टोली नेपाललाई आठ विकेटले हराउँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङ सुरु गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदा १२३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाउँदै जित निकालेको हो ।

बलियो थाइल्यान्डविरुद्ध नेपालले सन्तुलित ब्याटिङ गर्याे । तर, टोली बलिङ र फिल्डिङमा भने निकै कमजोर रह्यो । हालसम्म नेपाल र थाइल्यान्डबिच कुल आठ खेल भएका छन् । सबै खेल थाइल्यान्डको पक्षमा गएको छ। 

समूह ‘बी’मा जितसँगै थाइल्यान्डले महत्त्वपूर्ण दुई अंक जोडेको छ । यो समूहमा नेपाल र थाइल्यान्डसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, र जिम्बाबे छन् । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका छन् ।

प्रतियोगितामा नेपालसहित १० टिम सहभागी भएका छन् । यसबाट छनोट भएका चार टिम पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकप खेल्नेछन् । विश्वकपमा कुल १२ टिम हुनेछन् ।

थाइल्यान्डको जितमा ओपनर नाथकान चान्थमले सर्वाधिक ५७ रन बनाइन् । उनले ३९ बलमा नाै चौका र एक छक्का प्रहार गरेकी हुन् । नानपत कोन्चारोन्काईले २५ बलमा ६ चौकासहित ३२ रन जोडिन् । अर्की ओपनर अफिसारा सुवान्चोनरथीले ३२ बलमा दुई चौकासहित २८ रन बनाएकी हुन् ।

यसअघि नेपालले सुरुवात राम्रो गरे पनि मध्यक्रमले आशा गरेजस्तो प्रदर्शन गर्न नसक्दा ठुलो स्कोर बनाउन सकेन । ९८ रन बनाउँदा पाँच विकेट गुमाएको नेपालले बाँकी रन जोड्दा थप पाँच विकेट खेर फ्यालेको थियो ।

ओपनर विन्दु रावलले ५६ बलमा सर्वाधिक ४४ रन बनाइन् । उनले ६ चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्काले ११ बलमा ६ चौकासहित २६ रन बनाएकी हुन् । दुई खेलाडीले पहिलो विकेटका लागि ३४ बलमा ५२ रनको साझेदारी गरेका थिए । विन्दु र उपकप्तान पूजा महतोले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । पूजाले १२ रन जोडिन् । पूर्वकप्तान रुविना क्षेत्रीले १० बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाइन् ।

कप्तान इन्दु बर्माले मात्र ६ रन बनाइन् । कविता कुँवर पनि मात्र दुई रन बनाएर आउट भएपछि नेपाल ठुलो स्कोर बनाउन असफल भयो ।  कविता जोशी तीन रन, सीता रानामगर डकआउट, रिया शर्मा चार रन बनाएर आउट भए ।

थाइल्यान्डका लागि थिपात्चा पुथावोङले सर्वाधिक तीन विकेट लिइन् । ओनिचा कोमचोम्फुले दुई विकेट लिँदा चानिदा सुथिरुङ, सुलिपर्न लाओमी र सुनिदा चतुरोग्रतनाले समान एक विकेट लिएका थिए ।

सुझावित समाचार