लामो समयसम्म आन्दोलित किसानले स्याउ बिमा रकम प्राप्त गर्ने भएका छन् । जुम्लाको तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका किसानले बिमा रकम प्राप्त गर्ने भएका हुन् । २ माघमा शिखर इन्स्योरेन्स कम्पनीले गरेको स्याउ बिमा क्षति मूल्यांकन प्रतिबिरुवा २४ रुपैयाँ मात्रै तोकिएकोमा असन्तुष्टि जनाउँदै आन्दोलनरत किसानले त्रिपक्षीय सहमतिपछि स्याउ बिमा रकम पाउने भएका हुन् ।
तातोपानी गाउँपालिकाका स्याउ बिमा पीडित किसानले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयलाई २१ मंसिरमा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको पहलमा जिल्ला प्रशासन कार्यालय जुम्लामा पटक–पटक किसान, बिमा कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबिच वार्ता भए पनि सहमति हुन सकेको थिएन । स्याउ बिमा क्षति मूल्यांकन प्रतिबिरुवा २४ मात्र तोकिएको विषयमा विवाद चर्किएपछि तातोपानी गाउँपालिकाका जनप्रतिनिधि तथा पीडित किसानसहितको प्रतिनिधि टोली २४ पुसमा काठमाडौं पुगेको थियो ।
२६ गतेदेखि सुरु गरिएको धर्ना कार्यक्रमपछि कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको सक्रियतामा शिखर इन्स्योरेन्स, बिमा विकास बोर्ड, जल तथा मौसम विज्ञान विभाग र स्थानीय तहका प्रतिनिधिसहित चरणबद्ध वार्ता भएको थियो । २ माघमा अन्तिम चरणको वार्ता भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहबरमा त्रिपक्षीय सहमति भएको छ ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०८०/८१ को स्याउ बिमा दाबी मूल्यांकन गर्दा प्रयोग गरिएको मौसम मापन केन्द्रको त्रुटिपूर्ण प्रतिवेदन संशोधन गरी तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकालाई मध्यम खडेरी क्षेत्रका रूपमा मूल्यांकन गर्ने सहमति भएको छ ।
यसअघि सरकारी अनुदानसहित प्रतिबिरुवा दुई सय ६८ तोकिएको मूल्यांकन संशोधन गरी तातोपानी गाउँपालिकामा प्रतिबिरुवा चार सय रुपैयाँ, पातारासी र कनकासुन्दरी गाउँपालिकामा प्रतिबिरुवा तीन सय ५० कायम गर्ने सहमति भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने, नेपाल सरकारबाट प्राप्त हुने अनुदान पछि शोधभर्ना हुने गरी शिखर इन्स्योरेन्सले जुम्ला जिल्लाका सबै किसानले पाउने अनुदानसमेतको रकम एकमुस्ट उपलब्ध गराउने सहमति भएको छ ।’ पुनर्मूल्यांकनपछि सहमतिपत्रमा हस्ताक्षर भएको मितिले बढीमा १५ दिनभित्र अपुग कागजात संकलन गरी किसानलाई चेकमार्फत दाबी रकम भुक्तानी गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले बताए । यसअघि स्थलगत निरीक्षणमा मापदण्ड नपुगेको भन्दै अस्वीकार गरिएका बिरुवाको बिमा गर्दा कम्पनीले लिएको प्रिमियम रकम पनि किसानलाई फिर्ता गर्ने सहमति भएको छ । सहमतिपछि आर्थिक वर्ष ०८०/८१ (१ मार्चदेखि ३० अप्रिल २०२४) मा शिखर इन्स्योरेन्ससँग स्याउ बिमा गरेका तातोपानी गाउँपालिकाका करिब पाँच सय ११ जना किसानले ९७ हजार दुई सय २० बिरुवाको बिमा रकम प्राप्त गर्ने भएका छन् ।
हिमाली जिल्ला जुम्लामा हिउँ नपर्दा र लामो समयसम्म पानी नपरेर खडेरी लाग्दा जुम्लाको मुख्य आयस्रोतका रूपमा उत्पादन हुने स्याउ बाली नष्ट भएको थियो । साउन–भदौमा पाक्ने स्याउको फूल बोटमै सुकेको थियो ।