कांग्रेसले आगामी निर्वाचनका लागि टिकट वितरण प्रक्रियामा सहजीकरण गर्न प्रदेशस्तरीय पदाधिकारीलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सिफारिस भएका नेताहरूको समीक्षा गर्दै सबैलाई समेटेर उम्मेदवारको सूची तयार गर्न पदाधिकारीहरूलाई जिम्मा दिने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य अजय शिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘संसदीय बोर्डमा सबै पदाधिकारीहरू हुनुहुन्छ । विगतमा क्षेत्रदेखि जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामबारे समीक्षा गर्ने र सर्ट लिस्टिङका लागि सहजीकरण गर्न प्रदेशगत रूपमा पदाधिकारीलाई जिम्मा दिइएको छ ।’
कोशी प्रदेशमा उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री डिना संग्रौला पन्तलगायतलाई जिम्मा दिइएको छ । मधेश प्रदेशमा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र मुक्ता यादव, बागमतीमा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदयशमशेर राणा, सहमहामन्त्री बहादुरसिंह लामा तथा नेताहरू अर्जुननरसिंह केसी र राजन केसी, गण्डकीमा महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री योगेन्द्र चौधरी, प्रदेश सभापति अमरसिंह पुनले सहजीकरण गर्नेछन् ।
कर्णाली प्रदेशमा सहमहामन्त्री कर्ण बुढालगायतका नेता छन् भने सुदूरपश्चिमको जिम्मा सहमहामन्त्री प्रकाश रसाइलीले पाएका छन् । उनीहरूले उम्मेदवारहरूको सूची समीक्षा गरेर सिफारिस गर्नेछन् ।