मधेशकेन्द्रित दलहरू आगामी निर्वाचनमा सम्भावित गठबन्धनबारे छलफलमा छन् । जसपा नेपाल र लोसपा एकीकरणपछि बनेको जसपा नेपालले अन्य मधेशकेन्द्रित दलहरूसँग सिट बाँडफाँटबारे संवाद गरिरहेको जनाएको छ ।
जसपा नेपालका सचिव शैलेन्द्र साहका अनुसार लोकतान्त्रिक मोर्चाका घटकसँग सिट बाँडफाँट टुंगो लागेको छैन । ‘मोर्चाकम एकताबद्ध भएर चुनाव लड्ने सहमति छ । सिट बाँडफाँट भएपछि राम्रो उपस्थिति हुने अपेक्षा छ,’ उनले भने ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी १, २ र ३ बाट सिफारिस भएका छन् । उनी सप्तरी २ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव यही क्षेत्रबाट पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।
गठबन्धन भए यादव र राउतमध्ये एकजना सप्तरी ३ बाट उम्मेदवार बन्ने सम्भावना रहेको एक नेताले बताए । जसपा नेपालका नेता शरत्सिंह भण्डारी महोत्तरी २ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही २ बाट निर्वाचन लड्ने तयारीमा छन् ।