एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकीका सबै क्षेत्रको टिकट तय भइसकेको र बाँकी क्षेत्रका टिकट अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने उपमहासचिव लेखराज भट्टले बताए ।
पदाधिकारीमध्ये उपमहासचिव योगेश भट्टराईले उठ्न चाहेको ताप्लेजुङको टिकट अध्यक्षले अन्तिम टुंगो लगाउनेछन् । त्यस्तै, सचिव राजन भट्टराईको काठमाडौं ४, पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को पनि उम्मेदवारको टुंगो लागेको छैन ।
पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्दै आएको काठमाडौं ५ को पनि टुंगो लाग्न बाँकी छ । त्यहाँ पोखरेलले खासै रुचि राखेका छैनन् । चितवन १ मा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले रुचि नराख्दा कमलराज पाठकलाई उम्मेदवार बनाइएको छ ।
योगेश भट्टराईको फरक मत
टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन् । त्यसका तीन आधार उनले प्रस्तुत गरेका छन् । उम्मेदवार छनोटको मापदण्ड नै नबनाएर छनोट गरिएको, पछिल्लो अवस्था/बाह्य अवस्थालाई अजरअन्दाज गरिएको र आन्तरिक एकतालाई थप कमजोर बनाउने गरी टिकट बाँडिएको उनको भनाइ छ ।
पछिल्ला दुई निर्वाचन ताप्लेजुङबाट जितेका भट्टराईको टिकटको टुंगो लागेको छैन, अध्यक्ष केपी ओलीले टुंग्याउने सूचीमा राखिएको छ । शनिबारको सचिवालय बैठकपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आग्रह गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’