निर्वाचन आयोगको निर्णयविरुद्ध देउवापक्ष आइतबार सर्वाेच्च अदालत जाने

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या नहेरी निर्वाचन आयोगले गरेको निर्णय दूषित मनसायले प्रेरित रहेको बताएका छन्। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्माण भएको गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

बैठकपछि पत्रकारसँग निर्णय सुनाउँदै डा. महतले देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रस्ट देखिएको उल्लेख गरे। निर्वाचन आयोगले आफूहरूलाई छलफलका लागि समेत नबोलाएर एकलाैटी निर्णय गरेको उनकाे आरोप छ।

उनले यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बताए। निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय बैठकले गरेको उनले  बताए। आइतबार सर्वोच्च अदालत जाने उनको भनाइ छ। सर्वोच्च अदालत नै आफूहरूको अन्तिम सुनुवाइ गर्ने ठाउँ भएकाले आफूहरूले रिट पेस गर्ने उल्लेख गरे। 

सुझावित समाचार