खम्पा विद्रोह : उत्थान र पतनको नालीबेली

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • खम्पा विद्रोहका कमान्डर वाङ्दीको यो अवसान एउटा सामान्य परिघटना मात्रै थिएन, न संयोगवश नेपाली सेनासँग टकराउन पुग्दा उत्पन्न क्षतिको परिणाम नै थियो । यो त्यस्तो विद्रोहको अन्त्य थियो, जसलाई जुन शक्तिले जन्मायो, सम्हारमा पनि उही सहभागी थियो । त्यो थियो, अमेरिका ।

२४ भदौ ०३१ को बिहान ठिक ९:४५ बजे । खम्पा लडाकुका कमान्डर गे वाङ्दीसहितको टोली दार्चुलाको छाङरु गाउँस्थित तिंकर पहाडबाट बेँसीतर्फ झर्दै मात्रै के थिए, एम्बुस थापेर बसेका नेपाली सेनाबाट गोलीको वर्षा सुरु भयो । वाङ्दी पक्षले पनि जवाफी फायर खोले । दुई पक्षबिचको दोहोरो भिडन्त दिनभरजसो चल्यो । यही क्रममा कमान्डर वाङ्दी सेनाको गोलीबाट घटनास्थलमै ढल्न पुगे ।

घटनाले आक्रमक लडाकुको मनोबल एकाएक जमिनमा गिराइदियो । उनीहरूले हतियार घटनास्थलमै छाडे । र, तिंकरको लेक छिचोलेर लिपुलेकतर्फ फरार भए । घटनास्थलमा सेना पुग्दा अन्य पाँच लडाकुका शव पनि यत्रतत्र छरिएका थिए । त्यसबाहेक लडाइँमा प्रयोग भएका अत्याधुनिक हातहतियार, गोलीगट्ठा र वायरलेसका सेट पनि फेला परे । वाङ्दीको साथबाट भने सुनको जन्तर, सुनैको औँठी र ४० हजार ९९२ रुपैयाँ बरामद भयो ।

खम्पा विद्रोहका कमान्डर वाङ्दीको यो अवसान एउटा सामान्य परिघटना मात्रै थिएन, न संयोगवश नेपाली सेनासँग टकराउन पुग्दा उत्पन्न क्षतिको परिणाम नै थियो । यो त्यस्तो विद्रोहको अन्त्य थियो, जसलाई जुन शक्तिले जन्मायो, सम्हारमा पनि उही सहभागी थियो । त्यो थियो, अमेरिका । जसका लागि उसले आफ्नो खुफिया एजेन्सी सिआइए (सेन्टर इन्टिलिजेन्स एजेन्सी) प्रयोग गरेको थियो । पत्रकार तथा लेखक राजेन्द्र कुँवरबाट लिखित पुस्तक ‘नेपाली दृष्टिमा खम्पा विद्रोह’ सोही तथ्यको खोजमूलक विवरण हो ।

सन् १९४९ मा चिनमा कम्युनिस्ट क्रान्ति सफल भयो । सत्ताको बागडोर माओ जेदोङको हातमा पुग्यो । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता उनी जनमुक्ति सेनाको पनि सर्वोच्च कमान्डर थिए । उनको सेना छिन्नभिन्न चिनलाई समेट्न आक्रामक ढंगले अघि बढ्दै थियो । यही क्रममा उनीहरू तिब्बततर्फ अघि बढे । २३ मे १९५१ मा भएको १७ बुँदे सम्झौता भयो । त्योसँगै तिब्बत वैधानिक तवरले चीनमा समेटिन पुग्यो । तिब्बतमा खम्पा विद्रोह त्यही दिनबाट सुरु भयो ।

दोस्रो विश्वयुद्ध सकिएलगत्तै अमेरिका र तत्कालीन सोभियत युनियनबिच शीतयुद्ध सुरु भयो । अमेरिकी पक्षधर चीन कित्ता परिवर्तन गरेर सोभियत युनियनको पक्षमा उभिनपुग्यो । घटनाबाट अमेरिका झस्किन पुग्यो । उ चीनलाई कुनै हालतमा चेक गर्न चाहन्थ्यो । जसका लागि आवश्यक थियो, उसको कमजोरी । सिआइएका जासुस सूचना संकलनका लागि तिब्बत छिरे । यही क्रममा जब दलाई लामाका दाई ग्यालो थोन्डुप उनीहरूको सम्पर्कमा आए, खम्पा विद्रोहमा अमेरिकी प्रवेश त्यही विन्दुबाट सुरु भयो । लेखक कुँवरले यो तथ्यलाई पुस्तकमा रोचक ढंगले समेटेका छन् ।

उनले पुस्तकमा लेखेका छन्,‘उनीहरूले दलाई लामाका दाजुको सहयोगमा ६ जना खम्पालाई छनोट गरेर आफ्नो एजेन्ट बनाए । पहिले सिआइए निर्देशक एलनलाई खर्च जुटाउन गाह्रो परेको थियो । तर, पछि विदेशमन्त्री जोन डुलास र उपविदेशसचिव हर्बट होभर जुनियरको सहयोगले पूर्ण अधिकार पाए । सिआइएले छनोट गरेको ६ जना खम्पालाई सन् १९५७ मा जापानको सीमानजिकै रहेको टापु साइपोन पुर्याएर सैन्य तालिम उपलब्ध गराएका थिए ।’

सिआइएले तिब्बती स्वतन्त्रतालाई सघाउने निर्णय सन् १९५६ मा नै गरिसकेको थियो । जब अमेरिकी सत्तामा राष्ट्रपतिका रूपमा आइजनहावर आए, उनले अपरेसन तिब्बतलाई अझ सशक्त बनाउने निर्णय गरे । ६ भाइ खम्पा लडाकुका लागि उपलब्ध पहिलो लटको तालिम त्यसैको उपज थियो । नेपाली सेनाको फायरिङमा मारिएका वाङ्दी सोहीमध्येका एक थिए ।

वाङ्दी नेपाली सेनाका तत्कालीन जम्दार दानबहादुर चन्दको गोलीले रणमैदानमै ढलेका थिए । त्यहीँ उनको अन्त्य भयो । लेखक कुँवरले गोली प्रहारमा संलग्न चन्दलाई मात्र होइन, उनीसँगै लडाइँमा खटिएका सैनिक जवान नारायणदत्त भट्ट, नेपाल प्रहरीका तत्कालीन असइ वीरबहादुर चन्द, प्रत्यक्षदर्शी जितसिंह बोहरा, चन्द्रसिंह बोहरालगायतलाई प्रत्यक्ष भेटेका छन् ।

उनीहरू मार्फत २४ भदौ ०३१ को बिहान ९:४५ देखि साँझ ५:०० सम्म चलेको सैनिक कारबाहीलाई सचित्र उतार्न सकेका छन् । जसले १८,५०० फिट उचाइमा सात दिन सात रातसम्म खम्पा विद्रोह दबाउन थापिएको एम्बुसको मात्रै वर्णन गरेको छैन, एक थान एसएमजी र केही थ्रिनटथ्री राइफलको भरमा अत्याधुनिक हतियारधारी खम्पा गुरिल्लाविरुद्ध सफलतापूर्वक चालिएको सैनिक कारबाहीलाई सचित्र उतार्न सकेका छन् । 

गोली प्रहारमा संलग्न सेनाका तत्कालीन जमदार चन्दले पुस्तकमा भनेका छन्,‘मैले एसएमजी हतियारबाट फायर खोल्नेबित्तिकै पट्याङट्याङ अरूले पनि खोले । खोलापारि रहेका खम्पाले पनि फायर खोले । लामो समय दोहोरो भिडन्त भयो । हामीलाई परास्त गर्न ६०­६५ को हाराहारीमा खम्पाहरू अत्याधुनिक हतियार बोकेर पहाडतर्फ चढे र हामीमाथि लगातार आक्रमण भयो । हामीले पनि नरोकी फायर खोल्यौँ । हामीसँग सामान्य थ्रिनट राइफल मात्रै थियो । मसँग मात्रै एउटा सट गन थियो ।’

जनमुक्ति सेनाको आक्रामक आगमनका सामु दलाई लामा सर्मथक सेनाको केही चलेन । सिआइएबाट तालिम लिएका ४९ गुरिल्लामध्ये ३७ को ज्यान गयो । बाँचेका १२ मध्ये एकजना पक्राउ परे । अर्कोले आत्मसमर्पण गरे । बाँकी १० भाइ दलाई लामा पदचाप पछ्उँदै भारत छिरे । सोहीमध्येका एक थिए, वाङ्दी । 

भारतको पुर्वाेत्तर कालेङबुङ त्यसवेला सिआइको अखडा थियो । उनीहरू सोही क्षेत्रआसपास बस्न थाले । त्यसवेला अमेरिका खम्पा विद्रोह सशक्त बढाउने वा स्थगित गर्ने दुविधामा थियो । जसको असर खम्पा लडाकुमा पर्यो । बेरोजगार झैं भएका उनीहरूलाई सिआइएकै योजनामा कालिङबुङ र दार्जिलिङस्थित सडक खन्ने काममा प्रयोग गरियो । 

फ्री तिब्बतका लागि लडिरहेका लडाकुको हातमा बन्दुकको सट्टा बेल्चा थमाइयो । घटनाले लडाकुमा घोर निराश पैदा गरिदियो । लडाकुका कमान्डरहरू ग्यान्तोकमा बैठक बसे । सोही बैठकले चीनविरुद्ध लड्न नेपाली भूमि प्रयोग गर्ने निर्णय लियो । त्यो ठाउँ थियो, मुस्ताङ । र, अपरेसनको नाम राखिएको थियो, एसटी सर्कस (शर्मा, ०८१, पृ.२०१)। 

मुस्ताङको जोमसोमस्थित निलगिरि हिमालनजिकै खम्पा लडाकुका लागि कैसाङ क्याम्प निर्माण गरिएको थियो । जसका कमान्डर थिए, बाबा यशी । कालिङबुङ बैठकपछि उनको ठाउँमा वाङ्दी बहाल भए । र, उनकै कमान्डमा झन्डै २० वर्ष खम्पाले चीनविरुद्ध छापामार युद्ध लडे । अत्याधुनिक हतियारले सुसज्जित खम्पा लडाकुको उपद्रो चीनकेन्द्रित मात्रै थिएन, स्थानीयलाई पनि उनीहरूले हैरानी दिएका थिए । लुटपाट मच्चाउनु, चेलीबेटी बलात्कृत हुनु, सामान्य विवादमै मान्छे मार्नु उनीहरूका लागि सामान्य बनेको थियो । 

त्रासदीपूर्ण ती घटनाका भुक्तामानलाई ४९ वर्षपछि भेटाउनु र बयानका लागि तयार पार्नु लेखकका लागि सानो चुनौती होइन । तर, कुँवरले त्यो चुनौती सहज ढंगले पूरा गरेका छन् । यस क्रममा उनले निशस्त्रिकरण अभियानमा मुस्ताङ खटिएका सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्नेल सच्चितशम्शेर राणासँग भेट गरेका छन् । खम्पा अध्ययनमा पहिलो पटक मुस्ताङ खटिएका सेनाका तत्कालिन अधिकृत कृष्णनारायण सिंह थापा, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अधिकृत चन्द्रध्वज गुरुङ, भरियालाई १० दिन बोकाएर पहिलोपटक तोप मुस्ताङ पुर्याउने तत्कालीन क्याप्टेन बालानन्द शर्मालगायतकासँग बयान लिएका छन् । खम्पा विद्रोह दवाउन नेपाली सेनाले चलाएको अपरेशन, अख्तियार गरेको रणनीति र बहादुरीलाई उनीहरूको बयानले छर्लंग पारेको छ ।

पुस्तकमा अपरेसन कमान्डर राणाले भनेका छन्,‘नेपाली सेना क्याम्पभित्र प्रवेश गर्दा खम्पा हतियारसहित गेटमा तैनाथ थिए । क्याम्पको मुख्य द्वारदेखि २५ मिटर दूरीमा देब्रेपट्टि खाना पकाउने भान्सा थियो । ५० मिटरको दूरीमा खम्पा बस्ने ब्यारेक । दाहिलेपट्टि ड्युटीमा खटिएका खम्पाहरू हतियारले सुसज्जित देखिन्थे । पानीको खोल्सो कटेर ५० मिटर देब्रेपट्टि सानो थुम्कोमा कमान्डर वाङ्दी बस्थे ।’

सेनाको अपरेसनपछि वाङ्दीसहितका लडाकु भागेर हुम्लातर्फ लागे । यही क्रममा उनीहरूले मुचुस्थित प्रहरीचौकी पनि घेरा हालेका थिए । चौकीका तत्कालीन इन्चार्ज सइ जंगबहादुर बोहरा, घटनाका प्रत्यक्षदर्शी हुम्ला यांगरका तत्कालीन प्रधानपञ्च कुमार लामालगायतसँग लिइएको बयान अझ रोचक छन् । मिसनका क्रममा खटिएका नेपाल प्रहरीका तत्कालीन इन्सपेक्टर मोतीलाल बोहरा, सेनाका तत्कालीन क्याप्टेन राजेन्द्र थापा, मुस्ताङका स्थानीय कृष्णलाल थकालीलगायतसँग गरिएका कुराकानीले खम्पा विद्रोह बुझ्न अझ सहज बनाउँछ ।

सिआइएले खम्पा लडाकुका लागि हतियार, गोली, बम, रेडियो सेट, खाद्य सामग्रीलगायतका सामग्री ढुवानी गर्न काठमाडौंको स्युचाटार र रसुवाको थाम्बुचेमा छुट्टै विमानस्थल नै तयार गरेको थियो । सामग्री ओसार्न भियतनाम युद्धमा प्रयोग भएका लडाकु विमान प्रयोग भएका थिए । जसलाई थाइल्यान्डको बैंककस्थित अमेरिकी सैनिक अखडाबाट नेपाल उतारिएका थिए । सामग्री ढुवानी गर्न सिआइएले नेपालस्थित रेडक्रस सोसाइटीको ब्यानरसमेत प्रयोग गरेको थियो । यो प्रसंग पनि पुस्तकमा रोचक ढंगले प्रस्तुत भएका छन् ।

अमेरिकी तत्कालीन राष्ट्रपति आइजनहावरको पालाबाट सुरु भएको खम्पामाथिको लगानी रिजर्ड निक्सनको पालामा एकाएक रोकियो । कारण थियो, निक्सनको चीन भ्रमण । १९७२ मा भएको यो भ्रमण खम्पाका लागि वास्तवमै अवसान साबित भयो । तिब्बतलाई चीनबाट स्वतन्त्र गराइदिने प्रलोभन दिएर सिआइएले खम्पालाई एकीकृत मात्रै गरेको थिएन, २० वर्षदेखि डलरको खोलो बगाइदिएको थियो ।

तर, अमेरिकाले सोही विद्रोह चीनलाई तत्कालीन सोभियन युनियन लबीबाट अलग बनाउने हतियार बनायो । फ्री तिब्बतको सपना बोकेर लडाइँमा होमिएका खम्पाले जसको सुइँकोसमेत पाएनन् । अब सिआइएले खम्पामाथिको लगानी मात्रै रोकेन, विद्रोह दबाउन भूमिकासमेत खेल्यो । दार्चुलाको छाङरुमा २४ भदौ ०३१ मा भएको सैनिक अपरेसन त्यसैको परिणाम थियो । जहाँ वाङ्दीसँगै खम्पा विद्रोह सधैँका लागि अन्त्य हुनपुग्यो । पुस्तकमा उल्लेखित यस्ता प्रसंगहरूले शक्ति राष्ट्रहरू स्वार्थ पूरा गर्न कमजोरको भावनालाई कुन हदसम्म प्रयोग गर्छन् भन्ने छर्लंग पार्छ । 

सुझावित समाचार