पछिल्लो समय वैदेशिक लगानी ठुलाभन्दा साना प्रकारका उद्योगमा केन्द्रित हुन थालेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को साउनदेखि पुससम्म आएका लगानीमध्ये साना उद्योगमा चार सय ६०, मझौला उद्योगमा आठ र ठूला उद्योगमा सातवटा लगानी प्रतिबद्धता भएका छन् । समग्र तथ्यांकले वैदेशिक लगानी साना उद्योगतर्फ बढी केन्द्रित हुँदै गएको छ । जबकि, ठुला उद्योगमा अपेक्षितस्तरको आकर्षण देखिन सकेको छैन ।
पुस महिनामा आएको सम्पूर्ण लगानी साना उद्योगमा केन्द्रित छ । तथ्यांकअनुसार ३६ वटै लगानी प्रतिबद्धता साना उद्योगका लागि आएका हुन् भने मझौला र ठुला उद्योगमा कुनै पनि नयाँ लगानी प्रतिबद्धता देखिएको छैन ।
चालू आर्थिक वर्षको पुस महिनामा नेपालमा ५९ करोड ९५ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार पुसमा कुल ३६ वटा परियोजनामार्फत लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
पुस महिनामा प्रत्यक्ष वैदेशिक लगानीतर्फ सामान्य प्रक्रियामार्फत २८ वटा परियोजनाबाट २१ करोड ९५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । त्यसैगरी, एप्रुभल रुटमार्फत आठवटा परियोजनाबाट ३८ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
यस अवधिमा सेयर खरिद–बिक्री सम्झौतामार्फत चारवटा परियोजनामा १४ करोड २६ लाख २५ हजार दुई सय ७० रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ भने प्रविधि हस्तान्तरण सम्झौतामार्फत नौवटा सम्झौता भएका छन् । पुसमा आएको लगानीले पाँच सय २६ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।
साउनदेखि पुससम्म ३९ अर्बभन्दा बढी एफडिआई प्रतिबद्धता
चालू आर्थिक वर्षको सुरुवातदेखि पुस मसान्तसम्मको समग्र अवस्था हेर्दा नेपालमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल चार सय ७५ वटा परियोजनामार्फत एफडिआई प्रतिबद्धता प्राप्त भएको छ ।
साउनदेखि पुससम्म सामान्य प्रक्रियामार्फत तीन सय १४ वटा परियोजनाबाट दुई अर्ब ८० करोड ९९ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । एप्रुभल रुटमार्फत भने एक सय ६१ वटा परियोजनाबाट ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस अवधिमा सेयर खरिद–बिक्री सम्झौतामार्फत ३२ वटा परियोजनामा तीन अर्ब ९८ करोड ६६ लाख १२ हजार चार सय १४ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ भने प्रविधि हस्तान्तरण सम्झौतामार्फत ३१ वटा सम्झौता भएका छन् । यी लगानी प्रतिबद्धताबाट २० हजार एक सय २२ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
सूचना प्रविधिमा बढ्दो आकर्षण
संख्याका आधारमा सबैभन्दा बढी लगानीको आकर्षण सूचना प्रविधिमूलक उद्योगमा देखिन्छ । ६ महिनामा दुई सय ५७ वटा परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । जसमा कुल एक अर्ब सात करोड लगानीको प्रतिबद्धता प्राप्त भएको विभागको भनाइ छ । दोस्रोमा पर्यटन क्षेत्र छ । यस क्षेत्रमा एक सय ४५ वटा परियोजना प्रस्ताव भएका छन् । यसका लागि कुल १० अर्ब ५४ करोड लगानीको प्रतिबद्धता गरिएको छ । मूल्यमा हेर्ने हो भने सर्वाधिक लगानी प्रतिबद्धता कृषि तथा वनसम्बन्धी उद्योगमा छ । १३ वटा मात्रै प्रस्तावित परियोजनामा २१ अर्ब ८८ करोड लगानी प्रतिबद्धता जनाइएको छ ।