ताप्लेजुङमा निर्वाचनको औपचारिक प्रक्रिया सुरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। जिल्ला अदालतपरिसरमा शुक्रबार कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचनसम्बन्धी काम औपचारिक रूपमा सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा उनले निर्वाचनलाई निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न राजनीतिक दल, मतदाता तथा सरोकारवाला सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए। उनले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सबै सुरक्षा निकाय परिचालन गरिने जानकारी दिए।

निर्वाचन आचारसंहिता र कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सबै पक्षलाई उनले आग्रह गरे। उद्घाटन कार्यक्रममा नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर–१ गुल्म हेडक्वार्टर कञ्चनजंगाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ८० मतदानस्थल र एक सय २७ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगका अनुसार जिल्लामा कुल ९० हजार तीन सय २७ मतदाता रहेका छन्। 
 

सुझावित समाचार