पर्यटकलक्षित बिमा सेवा सुरु

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण
  • पहिलो चरणमा विदेशी पर्यटकलाई मात्रै उपलब्ध हुने यो सेवामा लोकेसन ट्रयाकिङ गर्न छुट्टै यान्त्रिक डिभाइससमेत हुने

टुर, ट्रेकिङ तथा हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकलाई लक्षित गरेर नेपालमा पहिलोपटक यन्त्रमा आधारित बिमा पोलिसी ल्याइएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन गार्डियन नेपालले यो बिमासेवा शुभारम्भ गरेका हुन् । 

पहिलो चरणमा विदेशी पर्यटकलाई मात्रै यस्तो पोलिसी बिक्री गरिनेछ । यसमा पर्यटकको लोकेसन ट्रयाकिङ गर्न छुट्टै यान्त्रिक डिभाइससमेत हुनेछ । त्यसले कुनै आपत्कालीन अवस्थामा पर्यटकको तत्कालीन लोकेसनमा पुगेर उद्धार गर्न सहज हुनेछ । उक्त डिभाइस सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिइएको हिमालयन गार्डियनको भनाइ छ । पुनर्बिमा सेवा भने एभरेष्ट–रि, ह्यान्डओभर–रि, लेडी अफ लन्डन–रिजस्तो अन्तर्राष्ट्रिय कम्पनीमा गरिने बताइएको छ । 

हिमालयन गार्डियनले बिमितलाई जिपिएस ट्रयाकर, २४ घण्टा नै निगरानी र उद्धारसम्बन्धी सेवा दिनेछ । बीमाले औषधि उपचार, उद्धार खर्च, आकस्मिक वा अपांगता, मृत्यु, यात्रु फिर्ता पठाउनेलगायतका दाबी–भुक्तानी दिनेछ । यसमा तीन प्रकारका बिमा सेवा हुनेछन् । टुरका लागि ३५ सय मिटर उचाइसम्म जोखिम रक्षावरण हुने गरी बिमा गरिनेछ । ट्रेकिङमा भने ५५ सय मिटर उचाइसम्मको जोखिम रक्षावरण हुने गरी बिमा गरिनेछ । क्लाइम्बिङ (हिमाल आरोहण)तर्फ भने ६ हजार मिटरसम्मको उचाइको जोखिम रक्षावरण हुने गरी बिमा गरिनेछ । 

पछिल्लो समय नेपालमा ‘फेक रेस्क्यु’ गरेर बिमा दाबी भुक्तानी लिने समस्यासमेत छ । त्यसलाई समेत न्यूनीकरण गर्ने गरी यो प्रडक्ट ल्याइएको कम्पनीको भनाइ छ । यसमा बिमा कम्पनीतर्फ आइजीआई पु्रडेन्सियल इन्स्योरेन्सको बिमालेख हुनेछ । बिमाशुल्क संकलन तथा तथा दाबी भुक्तानी सोही कम्पनीमार्फत हुनेछ ।  हिमालयन गार्डियन नेपाल भने संस्थागत बिमा अभिकर्ताको रूपमा हुनेछ । यो पोलिसी हिमालयन गार्डियन नेपालले मात्रै बिक्री गर्न पाउनेछ । हिमालयन गार्डियन नेपाल टुरिजम सेवा दिने कम्पनी हो । बिमालाई समेत समावेश गरेर एउटै प्याकेजमा टुरिजम सेवा दिने गरी यो प्रडक्ट ल्याइएको हो । 

See More On

सुझावित समाचार