सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण भने भोलि मात्रै सार्वजनिक प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।
पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्दा अनुसन्धानमा प्रभाव पर्ने देखिएकाले सार्वजनिक नगरेको उनको भनाइ छ । लुटपाटमा अन्य व्यक्तिहरू पनि सहभागी भएको आशंका र अनुसन्धान जारी रहेकाले नाम भोलि मात्रै सार्वजनिक गर्ने उनले बताए ।
मंगलबार साँझ भएको लुटपाटपछि स्थानीय युवाहरूले गाडी र चालकलाई नियन्त्रण लिएका थिए भने लुटपाटमा संलग्न व्यक्तिहरू जंगलतर्फ भागेका थिए ।
भागेका व्यक्तिहरू बाटो अनुभव नभएका कारण बुधबार बिहान जंगलबाट स्थानीय पसलमा चाउचाउ, रेडबुललगायतका सामान किन्न आउँदा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
बैंकबाट लुटेराहरूले करिब तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लगेकोमा हालसम्म दुई करोड ८० लाख ५२ हजार १७५ रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीमाढीमा ल्याइएको छ । अनुसन्धानको लागि बैंक रहेको घरबेटीलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बिएडी ०३९८ नम्बरको टाढा सुमो जिप तथा चालक भवतसिंह थापा केटी लिन जाने भनी लिएर आएको चालकको भनाइ उदृत गर्दै प्रहरीले बताएको छ ।
हतियारसहित आएका लुटेरा समूहले बैंकका कर्मचारी र सुरक्षागार्डलाई हातखुट्टा बाँधी पेस्तोल देखाएर लुटपाट गरेका थिए ।