सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सेकाहा क्लब फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको सेमिफाइनलको दोस्रो खेलमा सितलपाटी क्लबलाई हराउँदै सेकाहा क्लब फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि टाइब्रेकरमा गएको थियो।

टाइबे्रकरको सुरुमा ५÷५ जनाले बल प्रहार गरेका थिए। त्यसमा पनि बराबरी भएपछि पुनः २÷२ जना थप गरी टाइब्रेकर भएको थियो। सेकाहा क्लबका मनी मगर र कृष्ण राई तथा सितलपाटीका निरज परियार, निवन धिमाल र महेन्द्र लिम्बूले गोल गर्न सकेनन्।

प्रतियोगिताको म्यान अफ त म्याच सेकाहा क्लबका गोलकिपर प्रविन लिम्बू छानिए। उनी तीन हजार १ सय रुपैयाँसहित पुरस्कृत भए। 

सेमिफाइनलको पहिलो खेलमा सोमबार मकालु फ्रेन्ड्स क्लब र चुलाचुली स्पोटिङ क्लब दमक झापाबीच प्रतिस्पर्धा भएको थियो। मकालु फ्रेन्ड्स क्लब २–० को जितसहित फाइनलमा प्रवेश गरिसकेको छ। गत बर्षको विजेता चुलाचुली स्पोटिङ क्लबको यात्रा सेमिफाइनलमा नै टुङ्गिएको छ।

माघ १ गते बिहीबार प्रतियोगिताको उपाधीका लागि सेकाहा क्लब र मकालु फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेलको टिकट मूल्य दुई सय रुपैयाँ रहेको आयोजकले जनाएको छ।

सुझावित समाचार