पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डको मुग्लिनदेखि आँबुखैरेनीसम्म मस्र्याङ्दी नदीपारि समानान्तर सडक बन्ने भएको छ । सरकारले मुग्लिन–आँबुखैरेनीसम्मको हालको सडक विस्तार गर्न असम्भव भएपछि पारिपट्टि समानान्तर सडक बनाउने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त सडकको सीमा निर्धारण गरेको हो । हालको सडकलाई भने एकतर्फी बनाउने सरकारको योजना छ । मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ)देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत्गृहको पारिपट्टिसम्म थप सडकको रेखांकन गरेको हो ।
‘मुग्लिन–पोखरा सडकअन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ)देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत्गृहको पारिपट्टिसम्म थप सडकको रेखांखन गरी उक्त सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतिर १५–१५ मिटर गरी जम्मा ३० मिटर सडकको सीमा (राइट अफ वे) तोक्ने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ,’ रापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
मुग्लिन–पोखरा सडक विस्तारले अन्तिम रूप लिइरहेको छ । तर, यो सडकअन्तर्गत मुग्लिन–आँबुखैरेनी खण्ड करिब साढे नौ किलोमिटर सडक भने विस्तारमा समस्या देखिएको छ । यही सडकखण्डमा मस्र्याङ्दी जलविद्युत् आयोजना पर्ने तथा भौगोलिक बनावटसमेत जटिल भएका कारण पारिपट्टि समानान्तर सडक बनाउने सरकारी तयारी छ । मस्र्याङ्दी नदीपारि वारिपारि गरी करिब साढे आठ किलोमिटर सडक बन्नेछ । मस्र्याङ्दी र त्रिशूलीमा दुई नयाँ पुलसमेत बन्नेछन् ।