सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु सेहरले दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिका र मातहतका कर्मचारीहरूले अनिश्चित कालीन कार्यालय सेवा स्थगनको निर्णय गरेका छन् ।
सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख सेहरले सोमबार कार्यालयपरिसरमै प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरालाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले आज विज्ञप्ति निकालेर सेवा स्थगन गरेको जनाएका छन् ।
प्रेस विज्ञप्तिमा कर्मचारीहरूलाई गालीगलौज तथा दुर्व्यवहार गरी अभद्र व्यवहार गरिएको घटनाप्रति नगरपालिकाका कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा तथा सुरक्षामाथि प्रत्यक्ष आघात पुर्याएको हुँदा यस प्रकारका अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कार्यालय प्रमुखसहितका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति गहिरो दुःख र आपत्ति प्रकट गरिन्छ।
कर्मचारीहरूको सुरक्षा, सम्मान तथा कार्य वातावरण सुनिश्चित नहुन्जेलसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय (शिक्षण संस्थाहरूबाहेक)मा अत्यावश्यक सेवाबाहेकका सबै सेवा अर्को निर्णय नहुन्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
