गण्डकी प्रदेश र कोशी प्रदेश सरकारबिच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी भएको छ। पोखरामा सोमबार दुई प्रदेशका प्रतिनिधिहरूको उपस्थितिमा आयोजना गरिएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तर्क्रिया कार्यक्रमपछि पर्यटन सहकार्यका लागि समझदारी-पत्रमा हस्ताक्षर भएको हो।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र कोशीका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको उपस्थितिमा गण्डकी प्रदेशका तर्फबाट उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशीका तर्फबाट पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन्।
कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ तथा ०८२/८३ को नीति तथा कार्यक्रमअनुसार २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ। पर्यटन वर्षको प्रवर्द्धनका लागि कोशीका प्रतिनिधि पोखरा आएका हुन्। सोही क्रममा दुई प्रदेशबिच समझदारी भएको हो।
दुवै प्रदेशबिच आपसी व्यावसायिक सम्बन्ध विकास गर्दै सिकाइ तथा अनुभव आदानप्रदान गर्ने, कोशीसँग भौगोलिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा नजिकका देशहरू भारत, भुटान, बंगलादेश र चीनबाट आगमन हुने पर्यटकहरूको गन्तव्यलाई गण्डकीसम्म सहज र आकर्षक बनाउन संस्थागत सहकार्य गर्नेलगायतका उद्देश्यले समझदारी भएको हो।
कोशीले प्रदेशको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमार्फत राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याउने, स्थानीय तहमा रोजगारी सिर्जना गर्ने तथा प्रदेशको समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासमा टेवा पुरर्याउने उद्देश्यसहित पर्यटन वर्षको अभियान सञ्चालन गरेको मन्त्री पराजुलीले जानकारी दिए।
गण्डकीले निजी क्षेत्रको सहभागितासहित पर्यटन विकास तथा प्रवर्द्धनका क्षेत्रमा अवलम्बन गर्दै आएका नीतिगत व्यवस्था, कार्यक्रम तथा प्रवर्द्धनात्मक गतिविधिहरूलाई पुँजीकृत गर्दै अघि बढिरहेको मन्त्री बस्यालले बताए।
यी कुराहरूमा हुनेछ सहकार्य
समझदारीअनुसार दुवै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा प्रोत्साहन प्याकेज तथा निजी व्यावसायिक तहमा सुलभ पर्यटन प्याकेज विकासका लागि पहल गर्ने, पोखरा–विराटनगर सिधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालनका लागि दुवै प्रदेशबाट संयुक्त रूपमा संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने, दुवै प्रदेशमा पर्यटन क्षेत्रका सन्दर्भमा भएका असल अभ्यासको आपसी आदान–प्रदान गरिनेछ।
यसैगरी, दुवै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको आपसी प्रचार–प्रसारका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडासम्बन्धी विषयमा दुवै प्रदेशको आपसी सहमतिअनुसार आवश्यक सहकार्य र पहल गर्ने, संयुक्त रूपमा पर्यटन दूत नियुक्त गर्ने सम्बन्धमा आपसी समझदारी कायम गर्ने, दुवै प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूलाई जोडेर धार्मिक पर्यटन सर्किट विकास तथा प्रवर्द्धन गर्नेलगायतका विषयमा सहकार्य गर्ने गरी सहमति भएको हो।
दुई वर्षसम्म लागू हुने यो समझदारीको अवधि दुवै पक्षको सहमतिमा थप गर्न सकिने बताइएको छ। यसको कार्यान्वयनका लागि नौसदस्यीय गण्डकी–कोशी पर्यटन प्रवर्द्धन समन्वय समिति गठन गरिनेछ। कार्यक्षेत्र, भूमिका र जिम्मेवारी स्पष्ट हुने गरी आवश्यक कार्यविधि पछि निर्माण गर्ने गरी गठन हुने समितिको नेतृत्व प्रदेशको पर्यटन हेर्ने मन्त्रालयका मन्त्रीले आलोपालो गर्ने छन्।
मन्त्रीको संयोजकत्वमा रहने समितिमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशीका सचिव, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका दुईजना सहसंयोजक, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघ गण्डकी र कोशी प्रदेशका अध्यक्ष, पोखरा पर्यटन परिषद्का अध्यक्ष सदस्य रहनेछन्।