ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थानीय पर्यटकीयस्थललाई रोजगारीसँग जोडेर अघि बढेको छ । यसका लागि गाउँपालिकाले फुङ्फुङे झरना, तोक्पेगोलालगायत पर्यटकीय स्थलहरूलाई केन्द्रमा राख्दै पर्यटन पूर्वाधार विस्तारमा लगानी बढाएको छ ।
स्थानीयलाई पर्यटनसँग जोड्ने उद्देश्यले होमस्टे प्रवर्द्धन, सिप विकास तालिम र आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पर्यटन विकासलाई प्राथमिकतामा राखिएको बताए । ‘फुङ्फुङे झरना, तोक्पेगोलालगायतका पर्यटकीय क्षेत्रको पहिचान, पहुँच विस्तार र पूर्वाधार निर्माणमा गाउँपालिकाले लगानी गरिरहेको छ ।’ उनले भने, ‘स्थानीयको रोजगारी र आयआर्जनसँग पर्यटन जोड्ने हाम्रो लक्ष्य हो ।’
अध्यक्ष कार्कीका अनुसार गाउँपालिकाको आफ्नै स्रोत, प्रदेश तथा संघीय सरकारको सहयोगमा पर्यटन, सडक, पदमार्ग र आधारभूत भौतिक संरचनामा निरन्तर लगानी भइरहेको छ । आगामी दिनमा थप पूर्वाधार निर्माण, प्रचार–प्रसार र दिगो पर्यटन योजना कार्यान्वयन गर्ने तयारी पनि रहेको उनले जानकारी दिए । प्राकृतिक सुन्दरता, हिमाली जीवनशैली र सांस्कृतिक विविधताले भरिएको मिक्वाखोला गाउँपालिका अझै विकासको चरणमै भए पनि योजनाबद्ध लगानी र पूर्वाधार विस्तारले यस क्षेत्रलाई ताप्लेजुङकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
फुङ्फुङे झरना गाउँपालिकाको प्रमुख पर्यटकीय आकर्षण हो । वनको बिचबाट खस्ने यो झरनामा पछिल्लो सयम आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । गाउँपालिकाले झरनासम्म पुग्ने पदमार्ग सुधार, आसपासमा विश्रामस्थल र सुरक्षात्मक संरचना निर्माण गरिरहेको छ ।
यसैगरी, हिमाली क्षेत्रमा पर्ने तोक्पेगोला प्राकृतिक दृश्यावलोकन, पदयात्रा र हिमाली जीवनशैली अध्ययनका लागि उपयुक्त गन्तव्य हो । खुला मैदान, चरनभूमि, हिमश्रृंखलाको दृश्य तथा याक, चौँरी र भेडापालन गर्ने परम्परागत जीवनशैली यहाँको विशेषता हो । तोक्पेगोलातर्फ जाने गोरेटो बाटो स्तरोन्नति र आधारभूत संरचना निर्माणमा पनि काम भइरहेको पालिकाका अध्यक्ष कार्कीले जानकारी दिए । मिक्वाखोला गाउँपालिकाभित्र बग्ने मिक्वाखोला तथा तमोर नदीका सहायक खोलाहरू, वनजंगल, जडीबुटी र जैविक विविधताले यस क्षेत्रको प्राकृतिक सुन्दरता थप उजागर गरेको छ । लिम्बू समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मौलिक भाषा, संस्कार, चाडपर्व र परम्परागत खानाले सांस्कृतिक पर्यटनको राम्रो सम्भावना देखाएको छ ।
पूर्वाधार विकासतर्फ गाउँपालिकाले पछिल्ला वर्षहरूमा उल्लेखनीय लगानी गरेको जनाएको छ । ग्रामीण सडक विस्तार, पदमार्ग सुधार, पर्यटकीय स्थलसम्म पहुँच सहज बनाउने, खानेपानी तथा साना पुल निर्माणमा बजेट खर्च गरिएको छ ।