सरकारले आगामी पाँच वर्षका लागि लागू हुने वित्तीय क्षेत्र विकास रणनीतिलाई स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक, सामाजिक र संस्थागत विषयसँग सम्बन्धित विभिन्न ६ वटा निर्णय गरेको हो।
बैठकले आर्थिक प्रणाली सुदृढीकरणदेखि मानव बेचबिखनविरुद्धको नीति र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी विषयमा निर्णयहरू गरेको सरकारका स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन्:
-अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।
-वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने ।
-२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
-मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।
-गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।
-संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।