एनसेलले जेन–जी पुस्तालक्षित ‘युवा सिम’ प्याक सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धताबमोजिम ल्याइएको यो प्याकले युवावर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैँ जोडिराख्ने उद्देश्य राखेको छ ।सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम अर्थात् प्याक लिएर यसको फाइदा लिन सक्नेछन् ।
२६ पुसबाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र दुई सय ९९ रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, पाँच जिबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा–सुविधा २८ दिनका लागि मान्य रहनेछन् ।
यसका साथै ग्राहकले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन्, जसअन्तर्गत प्रतिमिनेट मात्र एक रुपैयाँमै कल गर्न सकिन्छ ।
त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको पाँच जिबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकले पे–एज–यू–गो डेटा सेवाप्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘युवालाई लक्षित गरी तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ,’ एनसेलका चिफ कन्सुमर बिजनेस अफिसर उपांग दत्तले भने, ‘आकर्षक सेवा–सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैँ कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’
युुवा सिम लिन प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेस गर्नुपर्नेछ वा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिने बताइएको छ ।