जंगली हात्ती आक्रमणबाट पीडित परिवारलाई नगदसहित खाद्यान्न

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

 सिराहाको लहान नगरपालिका– १६ आरिदमार गाउँमा नौ दिनअघि जंगली हात्तीको आक्रमणबाट पीडित १० परिवारलाई नगरपालिकाले तत्कालीन राहतस्वरूप नगदसहित खाद्यान्न उपलब्ध गराएको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आरिदमार गाउँका १० जना पीडित परिवारलाई राहतस्वरूप प्रतिपरिवार ५० किलो चामल, हात्तीले तोडफोड गरेको घर मर्मतका लागि नगद १० हजार रुपैयाँ हस्तान्तरण गरे । 

‘चुरो क्षेत्रको बस्तीमा जंगली हात्तीको समूहले गरेको क्षतिको तुलनामा राहत सामग्री न्यून हो,’ उनले भने, ‘तर, दुःखको समयमा स्थानीय सरकार पनि आफ्नो नागरिकसँगै छ भन्ने अनुभूति दिलाउन सहयोग उपलब्ध गराइएको हो ।’ पीडितलाई खाद्यान्नसहित नगद वितरणसँगै उनले हात्तीको आक्रमण हुँदा ११ दिनेको सुत्केरी रहेकी स्थानीय निरुता थापामगरसहित स्थानीय १५ जना वृद्धवृद्धालाई न्यानो सिरक उपलब्ध गराए । त्यसलगत्तै नगर प्रमुख चौधरीले लहान– १६ को विकट मानिने बरदमार, भसुवा खुलाले गाउँका ४५ जना वृद्धवृद्धा, असहायलाई एक–एक थान फाइबरको न्यानो सिरक वितरण गरे । 

हात्तीको समूहले १८ र १९ पुसको राति स्थानीय १० घर तोडफोडसहित घरमा राखिएको अन्नपात, बारीको फलफूल, केरा, तरकारीसमेत खाइदिएर क्षति पु¥याएको वेलामा नगरले दिएको सहयोगले थोरै भए पनि राहत भएको पीडित जालबहादुर थापामगरले बताए । उनका अनुसार लगातार दुई रातसम्म हात्तीको समूहले वितण्डा मच्चाउन थालेपछि ११ दिने सुत्केरीसहित गाउँलेहरूले बस्तीनजिकैको आरिदमार जंगलमा आश्रय लिएर ज्यान जोगाएका थिए । 

लहान– १६ का वडाध्यक्ष गडुलबहादुुर जर्घामगरका अनुसार हात्तीको समूहले स्थानीय जालबहादुरसहित भूपाल नाम्जाली मगर, भक्तबहादुर मस्राङ्गी, रमित बलम्पाकी, सहबहादुर बलम्पाकी, सन्तोष गौतम, हरि थापामगर, दुर्गबहादुर थापा, रामबहादुर थापा र लालबहादुर थापामगरको घर तोडफोड गरी अन्नपात खानुका साथै करेसाबारीमा लगाएको तरकारी बाली नष्ट गरेको थियो । 

सुझावित समाचार