फोक्सिङटारको बेलिब्रिज सञ्चालनमा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटेहाङ गाउँपालिका– ९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ५, आँपटार जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लामा यातायात सञ्चालन गर्ने गरी जडान गरिएको अस्थायी बेलिब्रिज आइतबारबाट सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो ६ महिनादेखि अवरुद्ध पूर्वी तराई जोड्ने दिक्तेल–गाईघाट सडकमा सिधा यातायात सुरु भएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायातका महासचिव रामकुमार हिङमाङले बताए । ‘फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि करिब तीन घण्टाको दूरी छोटो भएको छ,’ उनले भने, ‘यो दीर्घकालीन समाधान होइन । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए–एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोजले लिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार नौ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीले जानकारी दिएका छन् । गत वर्ष असोज १२ गते राति आएको अविरल वर्षाले एक सय २० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । तर, फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत् रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । सुनकोशीकै बंशिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ ।

सुझावित समाचार