१४औँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ। ‘शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रर्वद्धन’ भन्ने नारासहित युनाइटेड क्लब पोखराको आयोजनामा २९ पुसदेखि हुने महोत्सवको तयारी पूरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
पोखराको अमरसिंह चोकस्थित खेल मैदानमा ११ माघसम्म हुने महोत्सवको उत्पादन रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालि तथा प्रायोजन बेटरले गरेको छ। महोत्सवको सहप्रायोजकमा सिटिजन फर्निचर, प्रायोजकहरूमा बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेड, डियर वाक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्सको उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेसन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एन्ड मोटरसाइकल वर्कसप, डिभ्योल मोबिल र पोखरा सेकुवा घर रहेका छन्।
आयोजक क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सवबाट बचत भएको रकम हरेक वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनको क्षेत्रमा खर्च गर्दै आएको बताए। १४औँ संस्करणबाट बचत रकम पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित क्लबले निमार्ण गर्दै गरेको युनाइटेड आवासीय छात्रावासमा खर्च गर्ने जानकारी दिए।
२० कोठासहितको भवन निर्माण गर्ने योजनाअनुसार हाल तीन कोठाको भवन तयार भैसकेको र आउँदो शैक्षिक सत्रदेखि छात्रावास सञ्चालनमा ल्याउने बताए। साथै, प्रवेश टिकटबाट प्रतिटिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने उनले बताए।
प्रचारप्रसार संयोजक दिनेश सुनारका अनुसार महोत्सवमा २५० स्टल रहनेछन् भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ। पर्यटकीयस्थलको जानकारी दिने स्टल निःशुल्क उपलब्ध गराइएको उनले बताए।