- नेपालीको औसत प्रतिवर्ष आम्दानी ८७ हजार आठ सय र खर्च एक लाख ४० हजार एक सय, कमाएर पैसा बचत गर्ने समय २० वर्ष मात्रै
नेपालीको जीवनचक्रमा आम्दानीभन्दा उपभोग अर्थात् खर्च धेरै देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय पहिलोपटक तयार गरेको ‘नेसनल ट्रान्सफर एकाउन्ट’सम्बन्धी प्रतिवेदनले नेपालीको आम्दानीभन्दा उपभोग खर्च धेरै देखाएको हो । यो प्रतिवेदन आर्थिक वर्ष ०७८/७९ लाई आधारवर्ष मानी तयार गरिएको हो ।
तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार नेपालीको औसत प्रतिवर्ष श्रम आम्दानी ८७ हजार आठ सय १४ रुपैयाँ छ । तर, औसत प्रतिवर्ष उपभोग भने एक लाख ४० हजार एक सय ७० रुपैयाँ छ । यसरी वर्षमा नेपालीको आम्दानीभन्दा उपभोग ५२ हजार तीन सय ६६ रुपैयाँ बढी देखिएको छ । अर्थात् वार्षिक जीवनचक्र अभाव (डेफिसिट) ५२ हजार तीन सय ६६ रुपैयाँ छ ।
उमेर समूहअनुसार २४ वर्षसम्म वार्षिक ९३ हजार तीन सय ४८ रुपैयाँ, २५ देखि ६४ वर्षसम्ममा वार्षिक सात सय २४ रुपैयाँ र ६५ वर्षमाथि वार्षिक एक लाख १० हजार चार सय ६८ रुपैयाँ घाटा छ ।
२४ वर्षसम्म वार्षिक २७ हजार पाँच हजार ४८, २५ देखि ६४ वर्षसम्ममा वार्षिक एक लाख ५८ हजार ६ सय ३१ र ६५ वर्षमाथि वार्षिक ३६ हजार आम्दानी हुने गरेको देखिएको छ । खर्चतर्फ भने २४ वर्षसम्म वार्षिक एक लाख २० हजार आठ सय ९५, २४–६४ वर्षसम्म वार्षिक एक लाख ५९ हजार तीन सय ३५ र ६५ वर्षमाथि एक लाख ४६ हजार चार सय ८८ रुपैयाँ हुने गरेको छ । जीवनचक्रमा हुने गरेको घाटा कसरी पूर्ति भएको छ भन्ने विषयमा भने कार्यालय अध्ययन गरेको छैन ।
के–केमा कति खर्च ?
एकजनाले नेपालीको वार्षिक खर्च एक लाख २५ हजार आठ सय २४ रुपैयाँ छ । त्यसमा शिक्षामा आठ हजार दुई सय ९२ रुपैयाँ, स्वास्थ्यमा एक हजार ७७ रुपैयाँ र अन्य एक लाख १६ हजार चार सय ५५ रुपैयाँ छ ।
सार्वजनिक खर्च अर्थात् सरकारले गरिदिने खर्च भने वार्षिक १४ हजार तीन सय ५५ रुपैयाँ छ । त्यसमा शिक्षामा तीन हजार दुई सय ९१ रुपैयाँ, स्वास्थ्यमा एक हजार नौ सय ७९ रुपैयाँ र अन्यमा नौ हजार ८५ रुपैयाँ छ ।
नेपालको वार्षिक जीवनचक्र घाटा १५ खर्ब २७ अर्ब
नेपालको कुल वार्षिक औसत जीवनचक्र घाटा १५ खर्ब २७ अर्ब २१ करोड ९० लाख रुपैयाँ देखिएको छ । ०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ ।
आधार वर्ष ०७८/७९ मा नेपालीको कुल श्रम आम्दानी २५ खर्ब ६१ अर्ब चार करोड ७० लाख छ । खर्च भने ४० खर्ब ८८ अर्ब दुई सय ६६ छ । यसरी आधार वर्ष ०७८/७९ मा देशको कुल उपभोगभन्दा श्रम आम्दानी कम छ । अर्थात्, आव ०७८/७९ मा १५ खर्ब २७ अर्ब २१ करोड जीवनचक्र अभाव देखिएको छ ।
‘समग्रमा उपभोग र श्रम आम्दानीबिच तुलनात्मक रूपमा ठुलो अन्तर देखिन्छ । देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठुलो जीवनचक्र घाटा रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
जीवनमा बचत हुने समय २० वर्ष मात्रै
प्रतिवेदनअनुसार नेपालीले आफ्नो जीवनभरमा २० वर्ष मात्रै कमाएको पैसा बचत गर्न सकेका छन् । २७ देखि ४६ वर्ष उमेरमा मात्रै उपभोगभन्दा आम्दानी धेरै देखिएको छ ।
नेपालीको औसत आयु ७१.३ वर्ष छ । नेपालीले नौ वर्षदेखि नै आम्दानी गर्न सुरु गरेर ८९ वर्षसम्म पनि कमाएको प्रतिवेदनले देखाउँछ । तर, २७ देखि ४६ वर्षको बिचमा हुने आम्दानीबाट बचत हुने गरेको तथ्यांकमा उल्लेख छ । त्यसपछिको अवस्थामा आम्दानी घट्दै गएको देखिन्छ । त्यो वेलामा पुरानै बचत वा अन्य माध्यमबाट खर्च धान्नुपर्ने स्थिति नेपालीको छ । २६ वर्षसम्मको हकमा भने परिवारबाटै स्रोत जुटाउनुपर्ने देखिन्छ ।
अमेरिकामा २८ देखि ६१ वर्षसम्मका उमेर समूहले आम्दानीबाट बचत गर्न सकेका छन् । भारतमा पनि २६ देखि ६० वर्षसम्म उमेर समूहकाले आम्दनीबाट बचत गर्न सकेका छन् । त्यसको तुलनामा नेपालमा आम्दानी गरेर बचत गर्ने अवधि कम देखिएको छ ।
किन आयो यस्तो अवस्था ?
‘नेपाल श्रमशक्ति सर्वेक्षण २०१७/१८ ले नेपालको बेरोजगारी दर ११.४ प्रतिशत देखाएको छ । बेरोजगारीका कारण उपभोग र श्रम आयबिच ठुलो खाडल स्थापित भएको छ भन्ने आधार स्पष्ट हुन्छ । अर्थात्, यथोचित रोजगार उपलब्ध नभएको अवस्थामा न्यून तलब र स्वरोजगारको सीमित आम्दानीले गर्दा श्रम आम्दानी आवश्यक आधारभूत उपभोग पूरा गर्न पर्याप्त हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।
नेपालले जनसंख्याको लाभ लिन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘नेपालमा १५ देखि ६४ वर्षका काम गर्न सक्ने उमेर समूह कुल जनसंख्याको ६५ प्रतिशत रहेको छ, जसले आर्थिक वृद्धिका लागि प्रशस्त सम्भावना देखाउँछ । श्रम बजारमा श्रम सहभागिता दर ३८.५ प्रतिशत मात्र छ भने युवा बेरोजगारी १२.७ प्रतिशत रहेको छ । बेरोजगारीको यो अवस्थाले नेपालमा सिप विकास र रोजगारी सिर्जना कार्यक्रमको अविलम्ब अभिवृद्धि गर्नुपर्ने आवश्यकता प्रस्तुत गर्छ । देशको कुल उपभोगभन्दा श्रम आम्दानी निकै कम छ । काम गर्ने उमेर समूहको हिस्सा बढी भए तापनि सीमित रोजगारी र सिप असमानताले युवा बेरोजगारी बढाइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
वैदेशिक रोजगारीमा युवा जाँदा पनि देशभित्रको आर्थिक क्रियाकलाप फस्टाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । ‘काम गर्ने उमेर समूहको उल्लेखनीय हिस्सा वैदेशिक रोजगारमा रहेका कारण देशभित्रको आर्थिक क्रियाकलाप अपेक्षित रूपमा फस्टाउन सकेका छैनन् । समयसापेक्ष प्रविधिलाई भिœयाउन सकिएको अवस्था देखिँदैन । शिक्षा क्षेत्रमा सार्वजनिक लगानी कम भएकाले शैक्षिक पहुँचमा असमानता कायम रहेको छ । वृद्ध जनसंख्याको बढ्दो हिस्साले दीर्घकालीन समयमा पेन्सन र स्वास्थ्य नीतिमा चुनौती बढ्दै जाने देखिन्छ,’ प्रतिवदेनमा भनिएको छ, ‘साथै, अबको २३ वर्षपछि श्रमशक्ति क्रमश: घट्दै जाने भएकाले निवृत्त जीवनको सुरक्षा, स्वास्थ्य खर्च व्यवस्थापन र वृद्धका लागि सामाजिक सुरक्षाका थप नीति तथा कार्यकम आवश्यक देखिन्छ ।’
कार्यालयका निर्देशक दिनेश भट्टराईले नेसनल ट्रान्सफर एकाउन्टमा नेपालको अवस्था सन्तोषजनक नदेखिएको बताए । ‘समग्र जीवनचक्रमा नेपालीले आम्दानी गर्न सक्ने अवस्था २० वर्ष मात्रै देखियो, यो अत्यन्त न्यून हो । त्यसमा पनि श्रम आम्दानीभन्दा उपभोग धेरै देखियो,’ उनले भने, ‘यो हामीले पहिलोपटक तयार गरेको तथ्यांक हो । यसमा घाटालाई कसरी पूर्ति गरिएको छ भनेर विश्लेषण गरिएको छैन । अबको अध्ययनमा यस्तो घाटालाई कसरी पूर्ति गरिएको छ भनेर हेर्नेछौँ । सम्भवत: त्यसमा रेमिट्यान्सको हिस्सा धेरै हुन्छ होला ।’ यस्तै, अन्तरपुस्ता दायित्व, पैतृक सम्पत्ति, पेन्सनको माध्यमबाट पनि घाटाको पूर्ति भएको हुन सक्ने उनको भनाइ छ ।
अब सरकारले यसकै आधारमा उपयुक्त नीति ल्याउनुपर्ने उनले बताए । ‘अब विद्यार्थीको हकमा आफँै कमाउन आफैँ पढ भनेर पनि नीति ल्याउनुपर्छ होला । विदेशमा जसरी १८ वर्षदेखि आफ्नो दायित्व आफैँ लिनु भनेर सन्तानलाई भन्नुपर्छ । समग्रमा बचत हुने समय बढाउनुपर्छ । २० वर्षदेखि ६० वर्षसम्मको आम्दानीबाट बचत हुने अवस्था गराउन सकियो भने धेरै राम्रो हुन्छ,’ उनले भने, ‘तर, त्यसका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्छ ।’
यो तथ्यांकले मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्न मार्गदर्शन गर्ने कार्यालयको भनाइ छ । ‘साथै, नेपालको काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता अभिवृद्धि गर्न, सिप विकासलाई प्रवद्र्धन गर्न तथा सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतालाई यस अनुमानले स्पष्ट दिशानिर्देश गर्छ,’ प्रतिवेदनमा भनिएको छ ।