पुँजीबजारमार्फत दीर्घकालीन लगानी भित्र्याउन मुख्यमन्त्री पाण्डेकाे आह्वान

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण
पुँजीबजारमार्फत दीर्घकालीन लगानी भित्र्याउन मुख्यमन्त्री पाण्डेकाे आह्वान

स्टक ब्रोकर्श एशोशियसन अफ नेपालले शनिबार पोखरामा आयोजजा गरेको ३१औँ वार्षिक साधारण सभाका सहभागीहरु ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको शनिबार पोखरामा आयोजना गरेको ३१औँ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

कार्यक्रममा उनले देशको आम्दानीको प्रमुख स्रोत राजस्व रहेको र राजस्वको ठुलो हिस्सा निजी क्षेत्रको रहने भएकाले निजी क्षेत्र जति बलियो भयो त्यति राजस्व बढ्ने बताएका थिए । राजस्व जति बढ्यो, देशको आर्थिक अवस्था उति नै मजबुत हुने भनाइ मुख्यमन्त्रीको रहेको थियो। अर्को प्रसंगमा मुख्यमन्त्रीले पुँजीबजार निजी क्षेत्र, लगानीकर्ताको आत्मविश्वास र देशको आर्थिक भविष्यसँग प्रत्यक्ष जोडिएको बताउँदै स्टक ब्रोकर्सहरूको व्यवहार, पारदर्शिता र व्यावसायिक नैतिकताले नै लगानीकर्ताको विश्वास निर्माण हुने बताएका थिए । लगानीकर्ताको अपेक्षाअनुसार पुँजीबजारलाई बलियो बनाउन स्पष्ट र स्थिर नीति, व्यवस्थित कर प्रणाली, नियमनमा सहजीकरण, डिजिटल कारोबार र प्रविधिमैत्री सुधारको जरुरी रहेको भनाइ मुख्यमन्त्रीको थियो। 

गण्डकीमा पर्यटन, जलविद्युत्, कृषि, होटेल तथा सेवा क्षेत्रलगायत धेरै व्यावसायिक सम्भावना रहेकाले यी सम्भावनाहरूलाई व्यावहारिक परियोजनामा रूपान्तरण गर्न पुँजीबजारमार्फत दीर्घकालीन लगानी भित्र्याउन व्यवसायीहरूलाई उनले आह्वान गरेका थिए।

सभामा अध्यक्षले पेस गरेको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन, ०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्षले पेस गरेकोको ०८१/८२ को वार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष ०८२/८३ का लागि लेखा परीक्षकको नियुक्तिसँगै पारिश्रमिक निर्धारण, ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पेस भएका थिए। पेस भएका सबै प्रस्तावमाथि छलफल गरी सभाले पारित गरेको थियो।

आर्थिक क्षेत्र चलायमान बनाउन पुँजीबजारको प्रवर्द्धन गर्न आवश्यक : ढकाल
एसोसिएसनका अध्यक्ष सागर ढकालले समृद्ध मुलुक निर्माणका लागि आर्थिक क्षेत्र चलायमान बनाउन पुँजीबजारको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका थिए। आफूहरूले व्यवसाय सञ्चालनको क्रममा विभिन्न अवरोधहरू भोग्दै आएको, खुला अर्थतन्त्रको अनुकरण हुन नसकेको, व्यवसायीलाई नियमन र अनुगमनका बहानामा दुःख दिने गरिएको, नीतिगत अस्पष्टता देखाउँदै दुःख दिने गरिएको, सफल हुन नदिने, करलगायतका विषयमा झमेला गरी व्यावसायिक वातावरण कठिन बनाउने काम हुँदै आएको  भन्दै असन्तुष्टि जाहेर गरेका थिए। 

नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश प्रमुख राघिनी सिंहले नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्न राष्ट्र बैंकले विभिन्न नीतिहरू अघि बढाइरहेको, लिइरहेको छ, जसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पुँजीबजारमा पनि परेको बताइन् । 

एक वर्षमा सवा २१ खर्बको सेयर कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चूडामणि दाहालले लगानीकर्ता र नेप्सेबिचको पुलको काम एसोसियनले गर्दै आएको बताएका थिए । सरोकारवाला सबैले बजारलाई स्वच्छ, दिगो, पारदर्शी बनाइ लगानीकर्तानीको लगानी संरक्षण गर्न सहकार्य गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

आर्थिक वर्ष ०८१/८२ मा २१ खर्ब २४ अर्ब ९५ करोडबराबरको कारोबार भएको बताउँदै जुन अघिल्लो आर्थिक वर्ष ०८०/८१ को भन्दा १८० प्रतिशत बढी रहेको दाहालले बताएका थिए । हाल ७४ लाखले डिम्याट खाता खोलेको र उनीहरूमध्ये ४१ लाख लगानीकर्ता रहेको र २१ लाख दोस्रो बजारको कारोबारमा संलग्न रहेको उनले जानकारी दिए।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले पुँजीबजार सुधारका लागि सबैसँग सहकार्य गर्न बोर्ड सधैँ तयार रहेको बताए । नयाँ-नयाँ प्रविधिहरू ल्याएर धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने गरी बोर्डले काम गरिरहेको बताए। 

एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले पुँजीबजार कुनै पनि देशको अर्थतन्त्रको इन्जिन रहेको बताउँदै छरिएर रहेको साना-साना बचतलाई संकलन गरी पुँजी निर्माणमार्फत परिचालन गर्न सक्ने मेरुदण्डको रूपमा काम गरिरहेको बताए । 
 

सुझावित समाचार