उद्योगी व्यवसायीहरूले औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेध घोषणा गर्न माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७औँ वार्षिक साधारण सभामा सहभागी उद्योगी व्यावसायीहरूले औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गराउन महासंघले सरकार समक्ष माग गरेको बताए । यसबारेमा सरकारले चाँडै नै निर्णय गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले हरेक आन्दोलनमा निजी क्षेत्र मारमा पर्दैै आएको र यसको पछिल्लो उदाहरण जेन–जी आन्दोलन हेर्न सकिने बताए । ‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै निजी लगानीको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई पनि हड्ताल निषेधित घोषणा गरी तोडफोड, आगजनी, लुटपाटजस्ता घटना गर्न नमिल्ने गराउनु पर्छ,’ ढकालले भने, ‘यसका लागि महासंघले ड्राफ्ट बनाएर सरकारसमक्ष बुझाइसकेको छ । मन्त्रिपरिषद्को बैठकले चाँडै नै यसबारे निर्णय गर्ने नै छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा संघले विगतदेखि नै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेण्डा बनाइनुपर्ने माग गर्दै आइरहेको बताए ।
सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय उत्पादनको प्रयोगलाई जोड दिँदै आम व्यवसायीको हितलाई ध्यानमा राखेर नगरपालिकाले कर नभइ करको दायरा बढाएको बताइन् । नगरपालिकाले कर छुट दिँदा पनि व्यवसायी सम्पर्कमा नआएको गुनासो उनले गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई वेवास्ता गर्दा मुलुकमा समस्या आएको बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले गौतमबुद्ध र पोखरा विमानस्थलको अवस्था देखेर रुन मन लाग्ने जनाए ।