फुङलिङदेखि थेचम्बु, सिनाम, तेल्लोक र याम्फुदिन हुँदै कञ्चनजंघा आधारशिविर पुग्ने मुख्य सडकखण्डअन्तर्गत याङपाङदेखि मामांखेसम्मको सात किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रको सडकमा पहिलोपटक कालोपत्रे थालिएको हो । ०७८ देखि सुरु भएको कालोपत्रेको काममा करिब ८० प्रतिशत भौतिक प्रगति भएको सेवालुङ निर्माण सेवाका प्रोप्राइटर जसबहादुर लिम्बूले जानकारी दिए । सम्झौताअनुसार आगामी २० चैतमा कालोपत्रे सम्पन्न गर्नुपर्ने सर्त छ ।
यस आयोजनाको कुल लागत ५६ करोड रुपैयाँ रहेको छ । तर, चालू आर्थिक वर्ष ०८२/८३ मा पाँच करोड रुपैयाँ मात्र बजेट विनियोजन भएकाले रकम अभावमा समयमै काम नहुने निर्माण कम्पनीको दाबी छ । आयोजना सम्पन्नपश्चात् करिब १३ करोड भुक्तानीको दायित्व रहनेछ ।
गत ३ पुसमा सडक फराकिलो बनाउने क्रममा ठुलो दुर्घटना भएको थियो । सडकमाथिबाट आएको पहिरोले स्काभेटरलाई थिचेर पूर्ण रूपमा क्षति भएको छ । उक्त दुर्घटनाबाट करिब एक करोड रुपैयाँभन्दा बढी क्षति भएको निर्माण कम्पनीको दाबी छ ।