जेन-जी परिषद् गठनका लागि सरकारले सर्वसाधारणबाट माग्यो लिखित सुझाव

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

सरकारले जेन–जी परिषद् गठनका लागि सुझाव माग गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सूचना जारी गर्दै परिषद् गठनबारे लिखित सुझाव आह्वान गरेको हो।

नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच भएको सम्झौता कार्यान्वयनका लागि परिषद् गठन गर्न लागेकाले त्यसका लागि सुझाव मागेको सूचनामा उल्लेख छ। यसका लागि इमेल ठेगाना ([email protected]) समेत दिइएको छ। यही २९ पुससम्ममा लिखित सुभाव पठाउन सूचनामा भनिएको छ।

‘मिति २०८२/०८/२५ गते नेपाल राजपत्रमा प्रकाशित जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौताको बुँदा नम्बर ९ बमोजिम गठन हुने जेन–जी परिषद्को संरचना, जिम्मेवारीलगायतका विषयमा निम्न इमेल ठेगानामा लिखित सुझाव पठाउनुहुन अनुरोध छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

सरकार र जेन–जी प्रतिनिधिबिच भएको सम्झौताको बुँदा नम्बर ९ मा ‘जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिनेछ,’ भनिएको छ।

त्यसैबमोजिम परिषद् गठनको सुझावका लागि सरकारले सूचना निकालेको हो।

सुझावित समाचार