नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरूका लागि एनआइएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआइएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको जनाएको छ।
नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआइएमबी युनियन–पे कार्डमार्फत ग्राहकहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारिक केन्द्र तथा एटिएममा स्वीकार्य हुने यो कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियानअन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआइएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ। सीमित अवधिका लागि उपलब्ध यो अफरमार्फत ग्राहक वर्गहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्।