जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले १५ माघदेखि दसाैँ धादिङ महोत्सव हुने भएको छ । नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीस्थित खुलामञ्चमा महोत्सव २५ माघसम्म चल्ने आयोजकले जनाएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षण तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो। महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोडबराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ।
महोत्सवबारे जानकारी दिन बुधबार आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको थियो। महोत्सवस्थलमा एक सय व्यावसायिक स्टल, २० घरेलु तथा साना उद्योगका स्टल र ४० कृषि तथा अन्य उत्पादन रहने धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताए। साथै, महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति रहनेछ ।
यसअघि सम्पन्न महोत्सवहरूले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय व्यावसायिक वातावरण सुदृढ गर्न सकारात्मक योगदान दिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए।