कोशी प्रदेश सरकारका सबै मन्त्रीहरू परिवर्तन भएका छन् । कांग्रेस–एमाले गठबन्धनअनुसार २१ महिनाअघि तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले आलोपालो सहमतिअनुसार मंगलबार सबै विभागीय मन्त्री र राज्यमन्त्री परिवर्तन गरेका छन् । मुख्यमन्त्री कार्कीले आठ विभागीय मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथग्रहण गरेर जिम्मेवारी सम्हालेका छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित जम्मा नौवटा मन्त्रालय छन् । जसमा एक राज्यमन्त्रीसहित भौतिक, कृषि, स्वास्थ्य र पर्यटन वन तथा वतावरण मन्त्रालय कांग्रेसको भागमा छ । एमालेको भागमा मुख्यमन्त्री र एक राज्यमन्त्रीसहित आन्तरिक मामिला, सामाजिक विकास, खानेपानी, सिँचाइ तथा ऊर्जा र आर्थिक मामिला तथा योजना मन्त्रालय छ ।
मंगलबार नियुक्त मन्त्रीहरूमा कांग्रेसका प्रदीप सुनुवार भौतिक तथा पूर्वाधार विकास, मानबहादुर लिम्बू स्वास्थ्य, भीम पराजुली पर्यटन, वन तथा वातावरण, उद्योग, कृषि तथा सहकारी र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् । एमालेबाट तिलचन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, विदुर लिङथेप आर्थिक मामिला तथा योजना र रामप्रकाश महतो सामाजिक विकासमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला राज्यमन्त्री बनेका छन् ।
कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा २७ वैशाख ०८१ मा एमाले–कांग्रेस गठबन्धनबाट एमाले संसदीय दलका नेता कार्की तेस्रोपटक मुख्यमन्त्री बनेका थिए । तेस्रो कार्यकालमा मुख्यमन्त्री कार्कीले पाँचपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीका मन्त्रीहरू फेर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेका थिए ।