मंगलबार नेप्से परिसूचक ९.९३ विन्दुले बढेर दुई हजार ६४९.३० विन्दुमा कायम भएको छ। सोमबार २८ अंकले उकालो लागेको नेप्से आज करिब १० अंकले बढेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले उकालो लागेको छ।
आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर सात अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँमा खरिद–बिक्री भएको हो। सोमबार करिब साढे ६ अर्बको सेयर कारोबार भएको थियो।
मंगलबार होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन दुई समूहबाहेक सबैको सूचकमा हरियाली देखिएको छ। घटेका दुई समूह एक प्रतिशतभन्दा कमले ओरालो लाग्दा वित्त सर्वाधिक २.८७ प्रतिशतले बढेको छ। बाँकी समूह एक प्रतिशतभन्दा कम बढेका छन्।
आज जीवन विकास लघुवित्त र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन्। जानकी फाइनान्स, गुडविल फाइनान्स, एसवाई प्यानल र नेपाल रिपब्लिक मिडिया पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।
मंगलबार सर्वाधिक गुमाउने सूचीको शीर्ष नम्बरमा रुरु जलविद्युत् परियोजना छ। यो कम्पनी आठ प्रतिशतभन्दा धेरैले घट्दा ट्रेड टावर ६ तथा सान्वी इनर्जी, बन्दीपुर केबलकार र श्रीनगर एग्रिटेक पाँच प्रतिशतभन्दा धेरैले गिरावट भएका छन्।