आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । १० स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।
जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता कायम भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८, खोटेहाङ गाउँपालिकामा १५ हजार १७, जन्तेढुंगा गाउँपालिकामा १० हजार २३९, ऐंसेलुखर्क गाउँपालिकामा ११ हजार ८८३, केपिलासगढी गाउँपालिकामा १० हजार ९७८, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६, बराहपोखरी गाउँपालिकामा नौ हजार ३५४, रावाबेँसी गाउँपालिकामा नौ हजार ७३० तथा साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता कायम भएका छन् ।
जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जना मतदाताले अन्तरजिल्ला मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिएका छन् । निर्वाचन अधिकारी मगरका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुराना मतदाताको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएका मतदातामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको जनाइएको छ ।
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेपाल सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।
०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित भएको जिल्लामा पुरानै दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायत १६ वटा कम्युनिस्ट पार्टीहरूबिच एकीकरण भएपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले प्रत्यक्षतर्फ सात तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङले १० जना नेताको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
सबैभन्दा ठुलो दल नेपाली कांग्रेस खोटाङको भने अहिलेसम्म उम्मेदवार छनोटको विषयमा छलफल गर्न बैठक नै बसेको छैन । कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई ०७९ सालको निर्वाचनमा पार्टी निर्णयविरुद्ध बागी उम्मेदवारलाई सहयोग गरेपछि अनुशासनको कारबाहीमा परेकाले जिल्ला कार्यसमितिको बैठक नै बस्न नसकेको समाचार स्रोतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले पनि अहिलेसम्म प्रत्यक्षतर्फको उम्मेदवार छनोट गरेको छैन । रास्वपाले समानुपातिकतर्फको उम्मेदवार भने गायिका सत्यकला राईलाई जिल्लाबाट चयन गरेर बन्दसूचीमा समावेश गरिसकेको छ ।
जिल्लाका अन्य साना राजनीतिक दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । उम्मेदवार सिफारिस गरेका राजनीतिक दलका नेताहरू उम्मेदवारसहित चुनावी अभियान लिएर जनतामा जान थालिसकेका छन् ।