गोहीले बेपत्ता पारेको सदस्यका परिवार राहतबाट वञ्चित

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

गोहीले बेपत्ता पारेको सदस्यका परिवारले राहत पाउने राहत निर्देशिका भए पनि महिनौँदेखि वञ्चित हुनुपरेको पीडितको गुनासो छ । निर्देशिकामा भएका कानुनी जटिलताका कारण राहतबाट वञ्चित हुनुपरेको पीडित परिवारको भनाइ छ ।

गेरुवा गाउँपालिका– ४ राजीपुरका २२ वर्षीय विवस थारू ६ असोजमा गेरुवा नदीकिनारमा भैँसी चराउने क्रममा गोहीको आक्रमणमा परेका थिए । उनलाई गोहीले बेपत्ता बनाएको थियो । विपन्न परिवारका विवस बेपत्ता भएपछि शोकमा परेको परिवार अझै उठ्न सकेको छैन । विवसकी आमा जलावती थारू भन्छिन्, ‘छोरा बेपत्ता भएको सपना हो वा विपना ठम्याउनै सकेको छैन । छोरा गुमाउनुपर्दा संसार नै गुमाएजस्तो भइरहेको छ ।’ विवसले सानै उमेरमा पढाइ छोडेर ज्याला–मजदुरी गर्दै परिवारको पालनपोषण गर्दै आएका थिए । यसपटक उनी कमाउनका लागि मनाङ गएका र १४ साउनमा मात्रै घर फर्किएको उनकी श्रीमती अञ्जलीले बताइन् । अहिले घरमा सासूबुहारी र अञ्जलीको दुई वर्षकी छोरी छन् । परिवारमा कमाउने एक मात्रै व्यक्तिलाई गोहीले बेपत्ता बनाएपछि थारू परिवारको बिचल्ली भएको छ । 
निर्देशिकाअनुसार वन्यजन्तुको आक्रमणबाट कसैको मृत्यु वा बेपत्ता भए पीडित परिवारले १० लाख राहत पाउनेछन् । तर, विवसको शव फेला नपरेका कारण थप कानुनी प्रक्रिया पूरा हुन सकेको छैन । विवसकी आमाले भनिन्, ‘दुई महिनाजति नदीमा खोजी गर्दा पनि छोरा भेटिएन । राहत लिन पोस्टमार्टम रिपोर्ट अनिवार्य चाहिन्छ भन्छन् । मैले कहाँबाट पोस्टमार्टम रिपोर्ट ल्याउने हो र खै ?’

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले वन्यजन्तुको आक्रमण भएको व्यक्तिको परिवारले राहत पाउनका लागि पोस्टमार्टम रिपोर्ट, प्रहरीको मुचुल्का, मृत्युदर्ता र नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले विवसको खोजी गर्न हात्ती, र्याफ्टिङ परिचालन गर्दासमेत फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले असोजमा गोहीले बेपत्ता पारेको विवसको परिवारलाई राहत निर्देशिका, २०८० मा भएको व्यवस्थाअनुसार राहत दिन नसकिएको बताए ।

See More On

सुझावित समाचार