जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि मंगलबार १ बजेसम्म कर्फ्यु जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु आज दिउँसाे १ बजेसम्मका लागि वीरगन्ज महानगरपालिकाको संवेदनशील क्षेत्रमा कायम रहनेछ ।
महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो । वीरगन्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी भएको आदेशमा उल्लेख छ । प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लंघन गरे जोकोहीलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
हिन्दुहरूको रक्षाबन्धन पर्वप्रति दुई युवकले टिकटकमा नकारात्मक भिडियो पोस्ट गरेको निहुँमा मधेशको सामाजिक सदभाव नै खलबलिने गरी तनाव सिर्जना भएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेर कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ । तर, गत शनिबार धनुषाको कमला नगरपालिका– ६, सखुवा मरानस्थित मुस्लिम टोलस्थित मस्जिदमा तोडफोड र कुरान जलाएपछि तनाव थप चर्किएको हो ।
वीरगन्जमा आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार बिहान झन् चर्किएपछि परिस्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु मंगलबार दिउँसाे १ बजेसम्म कायम गरेकाे छ ।