२०० र ५०० दरका भारतीय नोटको सटही सुविधा खुलाउन ढिलाइ

भारत–नेपाल आउजाउ गर्दा मात्रै सटही सुविधा दिइने, चलनचल्ती प्रयोग गर्न नपाइने

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नेपाल–भारतबिच दुई सय र पाँच सय दरका भारतीय नोट ल्याउन र लैजान दिने गरी गरिएको सरकारी निर्णय २२ दिन बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । २९ मंसिरको मन्त्रिपरिषद्ले २५ हजार भारुसम्मको सीमामा दुई सय र पाँच सय दरका भारु नोट भारत–नेपालबिच ल्याउन–लैजान दिने निर्णय गरेको थियो । ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने,’ २९ मंसिरको मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको छ । तर, राजपत्रमा प्रकाशित नहुँदा यो व्यवस्था हालसम्म कार्यान्वयनमा आएको छैन ।

हाल नेपालमा १०० सम्मका भारु नोट मात्रै ल्याउन र लैजान पाउने व्यवस्था छ । भारतका २००, ५०० र २००० दरका नोट भारतीय रिजर्भ बैंकको निर्णयपछि नेपालमा ल्याउन र यहाँबाट भारत लैजान पनि प्रतिबन्ध लगाइएको थियो । तर, भारतले २८ नोभेम्बर अर्थात् १२ मंसिरमा आफ्नो राजपत्रमा सूचना सार्वजनिक गर्दै १०० माथिका भारु नोट नेपाल लैजान र नेपालदेखि ल्याउन दिने निर्णय गरेको थियो । त्यसपछि भारतीय रिजर्भ बैंकले विदेशी विनिमय व्यवस्थापन नियमावली, २०१५ संशोधन गर्दै ठुला दरका नोट पनि नेपाल–भारत ल्याउन–लैजान पाउने व्यवस्था गरेको थियो । सोहीअनुसार नेपाल सरकारले पनि २९ मंसिरमा २०० र ५०० का भारु नोट भारतबाट ल्याउन र भारत लैजान दिने निर्णय गरेको थियो । जुन अझै कार्यान्वयनमा आउन सकेको छैन । 

प्रक्रियागत रूपमा अब अर्थ मन्त्रालयले यस सम्बन्धमा राजपत्रमा सूचना प्रकाशन गर्नुपर्नेछ । त्यसपछि राष्ट्र बैंकले सोही राजपत्रको सूचना आधारमा एकीकृत निर्देशन संशोधन गरेर भारतीय नोटमाथिको प्रतिबन्ध फुकुवा गर्नेछ । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले कानुन मन्त्रालयको राय–सुझाव प्राप्त भएपछि राजपत्रमा सूचना प्रकाशन गरिने बताए । ‘२०० र ५०० दरका भारु नोट नेपाल–भारतबिच ल्याउन–लैजान दिनका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको अवस्था छ । यस सम्बन्धमा राजपत्रमा सूचना प्रकाशन गर्नुपर्छ, जुन प्रक्रियामा छ,’ उनले भने, ‘अहिले कानुन मन्त्रालयको राय–सुझाव लिने काम भइरहेको छ । कानुन मन्त्रालयको राय–सुझाव प्राप्त भएपछि राजपत्रमा सूचना प्रकाशन हुन्छ । अबको दुई–चार दिनमै राजपत्रमा सूचना प्रकाशन गर्ने गरी काम भइरहेको छ ।’

राजपत्रमा सूचना प्रकाशन भएपछि राष्ट्र बैंकले यसबारे थप कारबाही अघि बढाउनेछ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राजपत्रमा सूचना प्रकाशित भएर आएपछि निर्देशन संशोधन तथा सार्वजनिक सूचना जारी गरेर २०० र ५०० दरका भारु नोटमा सटही सुविधा दिने बताए । एक सय भारुमा सटही सुविधा साबिककै व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाइ छ । 

‘हामीले पनि राजपत्रको सूचना पर्खिरहेका छौँ । त्यहाँ प्रकाशित भएपछि हामीले बैंक तथा वित्तीय संस्था र सर्वसाधारणका लागि सार्वजनिक सूचना जारी गर्नेछौँ,’ उनले भने, ‘निर्देशन पनि संशोधन गर्नेछौँ ।’ भारतले २०१६ मा ठुला दरका भारु नोटको नोटबन्दी गरेको थियो । त्यसपछि ठुला दरको नोट नेपाल ल्याउन–लैजान बन्देज गरेको थियो ।  

कारोबार गर्न नपाइने 
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यसअन्तर्गत नेपाल–भारत आउजाउ गर्दा भारतीय नोटको सटही सुविधा मात्र दिइनेछ । नेपालको आन्तरिक बजारमा कारोबार गर्दा भारतीय नोटमा भुक्तानी गर्न भने पाइनेछैन । 

‘विभिन्न प्रयोजनमा नेपाली र भारतीय नागरिक भारत–नेपाल आउजाउ गर्दा नगद नै बोक्न पाउने गरी सहटी सुविधा पाउँछन् । त्यसमा पहिला २५ हजार भारुसम्मको सीमा १०० भारुसम्मको नोटमा मात्रै सटही सुविधा दिने व्यवस्था थियो । अब २०० र ५०० दरका भारु नोटमा पनि सटही सुविधा दिन लागिएको हो ।

तर, यसको मतलब नेपालको आन्तरिक बजारमा पनि भारुमै भुक्तानी गर्न पाइन्छ भन्ने होइन,’ उनले भने, ‘यो सटही सुविधाका लागि मात्रै हो ।’ विदेशी मुद्राको कारोबार गर्ने अनुमतिप्राप्त संस्थामा भने भारतीय मुद्रामा पनि भुक्तानी गर्न सकिने उनले बताए । ‘विदेशी मुद्राको कारोबार गर्ने अनुमति लिएका होटेल, रेस्टुरेन्टजस्ता संस्थामा भारतीय मुद्रामा पनि भुक्तानी गर्न पाइयो,’ उनले भने, ‘तर, अन्य ठाउँमा भारतीय नोटमा भुक्तानी गर्न पाइँदैन ।’

सुझावित समाचार