नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छानिएका रचनाहरू समेटिएको पुस्तकसंग्रह सार्वजनिक गरिएको छ।
‘पुष्पलालका छानिएका रचना’ शीर्षकमा प्रकाशित संग्रहमा उनका रचनाका चार भाग र नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक पुस्तक गरी कुल पाँचवटा पुस्तक समावेश छन्। यी पाँचवटै पुस्तक एकै बन्डलमा प्रकाशित गरिएको हो। जसको मूल्य ३ हजार ३२० रुपैयाँ तोकिएको छ।
पुस्तकको प्रकाशन लिपि बुक्सले गरेको हो। पुस्तकहरूको संकलन तथा सम्पादन पुष्पलाल अध्ययन समाजले गरेको हो। समाजले पुष्पलालका विभिन्न कालखण्डका लेख, दस्ताबेज र ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै उनको वैचारिक योगदानलाई अभिलेख गर्ने प्रयास गरेको जनाएको छ।
पुष्पलालका छानिएका रचनाको प्रकाशनले नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बुझ्न र नेपाली राजनीतिक चिन्तनको विकासक्रम अध्ययन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।