- आर्थिक वर्ष ०८१/८२ मा दुई हजार दुई सय ६२ किलो ताजा च्याउ आयात भएको थियो । तर, सोही वर्ष १७ हजार एक सय ९८ किलो निर्यात भएको विभागको तथ्यांक छ ।
विगतमा ठुलो परिमाणमा आयात हुने गरेको च्याउ अहिले निर्यातको बाटोमा छ । मुलुकभित्रै व्यावसायिक उत्पादन बढेकाले च्याउको आयात प्रतिस्थापन भइरहेको कृषि विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो समय आयातको तुलनामा ताजा च्याउको निर्यात हिस्सा धेरै छ । गत आर्थिक वर्ष ०८१/८२ मा दुई हजार दुई सय ६२ किलो ताजा च्याउ आयात भएको थियो । तर, सोही वर्ष १७ हजार एक सय ९८ किलो निर्यात भएको विभागको तथ्यांक छ । उक्त परिमाणको च्याउ निर्यातबाट एक करोड एक लाख ३९ हजार रुपैयाँ आम्दानी भएको थियो ।
सात वर्षअघि भने निर्यातको तुलनामा आयात परिमाण धेरै थियो । आर्थिक वर्ष ०७५/७६ मा दुई लाख ९४ हजार एक सय ६४ किलो च्याउ आयात हुँदा आठ सय १० किलो मात्रै निर्यात भएको थियो । सिँचाइ, मल र जमिनविना थोरै लगानीमा मनग्गे आम्दानी देखेर किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुने क्रम बढेकाले उत्पादनमा उल्लेख्य सुधार आई निर्यातसमेत हुन थालेको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए ।
हाल वार्षिक १५ हजार टनभन्दा बढी च्याउ उत्पादन भइरहेको विभागको तथ्यांक छ । मौसमी च्याउ खेती मात्रै हुने र बजारमा ताजा च्याउ मात्रै बिक्रीका लागि उपलब्ध गराउने भएकाले किसानले बेमौसमी उत्पादनमा ध्यान दिन जरुरी रहेको उनले बताए । च्याउलाई सुकाएर वा अन्य कुनै तरिकाबाट प्रशोधन गरी बजारीकरण हुन नसकेको उनको भनाइ छ । बेमौसमी बजार भने अहिले पनि आयातमै निर्भर भइरहेको विभागको तथ्यांक छ । विभागका अनुसार सुकेको च्याउ वार्षिक रूपमा १० हजार किलोभन्दा बढी आयात भइरहेको छ ।
नौ प्रकारका च्याउ उत्पादन
मुलुकभित्र हाल मुख्यतया नौ प्रकारका च्याउ उत्पादन भइरहेको कृषि विभागको तथ्यांक छ । विभागका अनुसार सबैभन्दा धेरै उत्पादन र माग गोब्रे, कन्ये र सिताके च्याउको छ । चिस्यानको मात्रा र पौष्टिकता पनि बढी हुने भएकाले सहरी क्षेत्रका रेस्टुरेन्ट र घरेलु उपभोक्ताले यी तीन थरी च्याउको खपत धेरै गर्ने गरेको विभागको भनाइ छ । त्यस्तै पराले, दुधे, रातो, राजा, गुलाबी र पहेँलो कन्ये च्याउ मुलुकभित्रै उत्पादन हुने गरेको विभागले जनाएको छ ।