एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०५३ बाट सुरु भएको हो । यस अवार्डको दायरा अहिले निकै फराकिलो भइसकेको छ । नेपाली खेलकुदमा यो अवार्ड सबैभन्दा बृहत् र प्रतिष्ठित बनेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पहिलोपटक पोखरामा अवार्ड आयोजना गर्दै छ । अवार्ड मोसफलमा आयोजना हुन लागेको पहिलोपटक हो । एक अर्थमा पयर्टकीय र खेलकुद हब मानिने पोखराले अवार्डलाई भव्य बनाउन कसरत गरेको छ ।
यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चस्व रहने हो । समग्रमा क्रिकेटले ६ र फुटबलले पाँचपटक अवार्ड जितेका छन् । जसले त्यस वर्ष राम्रो गरेको हुने गर्छ । यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूचीमा क्रिकेट अगाडि आउँछ । तथ्यांकअनुसार २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो । त्यतिवेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ । तथ्यांकलाई आधार मान्दा अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपटक अवार्ड जितेका छन् । अवार्डमा क्रिकेटले दबदबा देखिन्छ । पारस मात्र नभएर विभिन्न संस्करणमा क्रिकेटका कुनै न कुनै खेलाडीले अवार्ड जितेका छन् । पारसले पहिलोपटक २०६६ मा अवार्ड जितेका थिए । त्यसपछि उनले लगातार ०६९ र ०७० मा अवार्ड हात पारे । उनले ०७४ मा अन्तिमपटक यो अवार्ड जिते । आयोजक मञ्चले उनलाई ०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको थियो । पारस पछिल्ला केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस अहिले क्यानका सचिव हुन् ।
भण्डारी र विष्ट समान दुईपटक उत्कृष्ट
पारसपछि अवार्ड धेरैपटक जित्ने दुई खेलाडी छन् । एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुईपटक वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । दीपक नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । उनले पहिलोपटक अवार्ड जित्ने क्रममा फुटबलका देवनारायण चौधरी, जुमानु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्टलाई पछि पारे । क्रिकेटबाटै यो अवार्ड जित्ने अर्का खेलाडी विनोद दास हुन् । गत वर्ष क्रिकेटका कप्तान रोहित पौडेल उत्कृष्ट पुरुष खेलाडी बने । राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयपछि दीपक अधिकारी यो विधाको विजेता रहे । त्यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र कराँतेका मन्डेकाजी श्रेष्ठले समान एकपटक वर्षको उत्कृष्ट खेलाडी अवार्ड हात पारे ।
पाँच खेलाडीको दाबी
वर्षको उत्कृष्ट खेलाडी हुने दौडमा पाँच खेलाडीले दाबेदारी दिनेछन् । क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, टेबुलटेनिसका स्यान्टु श्रेष्ठ, खोखोका जनक चन्द र उसुका विजय सिँजालीले वर्षको उत्कृष्ट खेलाडीमा दाबी गरेका छन् । एथलेटिक्सले तीन र तेक्वान्दोले समान दुई अवसरमा वर्ष उत्कृष्ट अवार्ड आफ्नो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र कराँतेले एक–एकपटक अवार्ड हात पारेका छन् । खेलाडी युुकेश गुुरुङ पोखराकै विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङ खेलबाट उत्कृष्ट खेलाडी बनेका हुन् । उनको टोलीले इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा रजत पदक जितेको थियो ।