भारत र बंगलादेशबिच चिसिएको सम्बन्धको असर क्रिकेटमा देखिएको छ। बंगलादेशको टिमले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरेको छ। सुरक्षालगायतको कारण देखाउँदै बंगलादेशले भारत जान अस्वीकार गरेको छ।
विश्वकपका बंगलादेशका तीन खेल कोलकातामा तय भएको थियो। तर, पछिल्लो समय तनाव बढेपछि बंगलादेश क्रिकेट बोर्डले यस्तो निर्णय गरेको हो। बंगलादेश सरकारसमेतको सल्लाहमा अहिलेको अवस्थामा विश्वकप खेल्नका लागि आफ्नो टिम भारत जान तयार नरहेको बंगलादेश क्रिकेट बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आगामी ७ फेब्रुअरीदेखि सुरु हुन लागेको टी–२० विश्वकप भारत र श्रीलंकामा हुँदै छ।
यसअघि भारतको क्रिकेट बोर्डले बंगलादेशी खेलाडी मुस्ताबिजुर रहमानलाई आइपिएल नखेलाउन कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएको थियो।
गत महिनामा बंगलादेशमा एक विद्यार्थी नेताको हत्या र त्यसपछि बढेको साम्प्रदायिक दंगासँगै भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको हो। त्यसको असर क्रिकेटमा देखिएको छ।
भारत र पाकिस्तानबिच पनि क्रिकेटमा लामो समयदेखि यस्तो समस्या रहँदै आएको छ।