बर्दियाका साहसिक महिला प्रकृति पद प्रदर्शक जसले पर्यटकलाई निकुञ्ज घुमाउँछन्

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

बर्दियामा रहेका ६ जना महिला प्रकृति पद प्रदर्शकले  बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई निकुञ्ज घुमाउँदै आएका छन् । ती महिला प्रकृति पद प्रदर्शक सुशीला महतरा, अनु चौधरी, मञ्जु महतरा, सविता चौधरी, रञ्जु महतरा र सीतारानी चौधरी हुन्। 

निकुञ्ज वन्यजन्तुको वासस्थान हो। निकुञ्ज प्रवेश गर्ने हिम्मत कमैले  गर्छन्,  निकुञ्ज घुम्नु भनेको साहसिक र रोमाञ्च  यात्रा हो । त्यही साहसिक र रोमाञ्चक यात्रा गराउने काममा महिला  प्रकृति पद प्रदर्शक सक्रिय हुँदै आएका छन् ।  जसले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई निकुञ्ज घुमाउने काम गर्दै आएका छन् । ती साहसिक र रोमाञ्चक काममा सक्रिय हिम्मतवाली प्रकृति पद प्रदर्शकहरू अहिले स्वदेशी तथा विदेशीमा समेत परिचित हुन थालेका छन् ।

कुनै काम गर्नलाई चाहना, योजना, इच्छाशक्ति, साहस र धैर्य हुनुपर्छ । संसारमा कुनै काम पनि असम्भव छैन । प्रायः पुरुषहरूले मात्र गर्दै आएका प्रकृति पथ प्रदर्शकको कामलाई महिला प्रकृति पद प्रदर्शकहरूले गरेर देखाएर अहिले समाजका उदाहरणसमेत बनेका छन् । निकुञ्जभित्र जाँदा कैयौँपटक बाघ, हात्ती, गैँडा, चितुवाजस्ता वन्यजन्तुसँग भेट हुने जोखिम हुन्छ । जोकोहीले यो जोखिम लिने साहस गर्न सक्दैनन् । तर, महिला  प्रकृति पद प्रदर्शक गर्दै आएका काम,  हिम्मत र साहस भने अदभूत छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले  महिला  प्रकृति पद प्रदर्शकले  निकुञ्ज घुम्न आउने पर्यटक घुमाउने काम जोखिमपूर्ण काम गर्दै आएको बताए । उनले भने, ‘प्रकृति पद प्रदर्शकलाई निकुञ्जले वन्यजन्तुबाट कसरी सुरक्षित रहने, निकुञ्जको कानुन कस्तो छ,  वनमा जाँदा कसरी सुरक्षित हुने भन्नेबारेमा तालिम दिने गरेको छ भने दिनहुँ निकुञ्जमा पर्यटक लिएर जाने हुँदा महिला  प्रकृति पद प्रदर्शकलाई निकुञ्जबारे धेरै ज्ञान छ । उहाँहरूले गरेको काम पनि राम्रो छ ।’

निकुञ्ज घुम्न आउने पर्यटकलाई घुमाउँदा महिला प्रकृति पद प्रदर्शक स्वरोजगार भएका छन् भने छोरीहरू पनि साहसिक र रोमाञ्चक काम गर्न सक्छन् भन्ने देखाएका छन् । पहिलाजस्तो महिलाहरूले घरको काम मात्र गर्नुपर्छ भन्ने मूल्य–मान्यतालाई तोडेर बाहिर आएका सुशीला महतरा, अनु चौधरी, मञ्जु महतरा, सविता चौधरी, रञ्जु महतरा र सीतारानी चौधरीले पर्यटकलाई निकुञ्जबारे बताउँदै आएका छन्  । पर्यटकलाई निकुञ्ज घुमाइरहेका छन् । वन्यजन्तु देखाइरहेका छन् । अहिलेसम्म महिला प्रकृति पद प्रदर्शकहरूले हजारौँ पर्यटककाई निकुञ्ज घुमाउन सफल भएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले  पुरुष तथा महिला प्रकृति पद प्रदर्शकको तालिम दिएको संरक्षण कोषका प्रमुख अजीत तुम्बाहाम्फेले बताए । 

उनले भने, ‘तालिम पाएपछि महिला प्रकृति पद प्रदर्शक राम्रै काम गरिरहेका छन् । नेचर गाइडको रूपमा देश–विदेशमा परिचित हुन थालेको छन् भने आर्थिक रूपमा पनि आत्मनिर्भर बन्दै गइरहेका छन् । पछिल्लो समयमा वन्यजन्तुको क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाले पनि प्रकृति पद प्रदर्शकको तालिमका लागि सहयोग गरिरहेका छन्  ।’

प्रकृति पद प्रदर्शकको  तालिम लिने महिलाहरू धेरै भए पनि अहिले निकुञ्जमा प्रकृति पद प्रदर्शकको काम गर्ने महिलाको संख्या निकै कम रहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले आफ्नो चाहनाअनुसार वन्यजन्तु देख्न  पाउँदा निकै खुसी हुने गरेको  महिला  प्रकृति पद प्रदर्शकहरू बताउँछन् । उनीहरू पर्यटक आउने समयमा पर्यटक घुमाउने काम गर्छन् भने  अन्य समयमा समुदायमा गएर सचेतनामूलक कार्यक्रम गर्ने र वन्यजन्तुको संरक्षणको अभियानमा लाग्ने गरेका छन् ।

सुझावित समाचार