कति बसून् मान्छेहरू मात्रै सभामा–
मान्छेको भिडबाट
थाकेर
आजित भएर
एक दिन
जनावरहरू बसे
टाढा गएर आफ्नै वृत्तमा
बस्यो कागहरूको सभा
बस्यो बकुल्लाहरूको सभा
कमिलाहरू जुटे, माहुरीहरू गुन्जिए
कुकुरहरू पनि आए
सबैले छाने आफ्ना प्रतिनिधि
र, तय गरे एजेन्डा
कागको जस्तो चतुर्याइँ
बकुल्लाको जस्तो एकाग्र ध्यान
कमिलाको जस्तो सहकार्य,
माहुरीको जस्तो श्रमनिष्ठा
कुकुरको जस्तो इमानदारी
यी सारा दृष्टान्त पेस गर्दै
गरे जनावरहरूले घोषणा–
‘मान्छेले अब सिक्नुपर्छ हामीबाट’
ठिक त्यही बखत
सभाहलको कुनामा उभिएको
बुढो गोरुले
थकित ध्वनिमा सोध्यो–
‘होइन, यो साझा पृथ्वीमा
मान्छेलाई
सर्वोच्च प्राणीको उपाधि दिन
कसले ल्याएछ पहिलो प्रस्ताव ?
र, कसले जनाएछ समर्थन ?’
सभा केही क्षण भयो सन्नाटामग्न
हावासँगै चलायमान भयो प्रश्न
जसको जवाफ
आज पनि अनुपलब्ध छ ।