साहित्यमा जम्दै लैंगिक तथा यौनिक अल्पसंख्यक

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

प्रकृतिमा मानिसको आँखाले देख्न सक्ने सात रंगको संयोजन छ । मानिस यही प्रकृतिको उत्पादन हो । र, त हामी साहित्यमा, जनबोलीमा भन्छौँ, सप्तरंगी इन्द्रेणी । तर, सबै रंग साहित्यमा व्यक्त भइरहेका थिएनन् । केही रंगको मात्रै बाहुल्य थियो । पछिल्लो समय ती बाँकी रंगहरूले पनि आफूलाई कवितामार्फत व्यक्त गर्न थालेका छन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले कविता, कथा, उपन्यासमार्फत आफ्ना अनुभव, आवाज र प्रतिरोध प्रस्फुटन गर्न थालेका छन् ।

अनुको सपना

कालिकोटका अनु शाही ठकुरी स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । उनी ट्रान्स म्यान हुन् । उनी सानैदेखि कविता लेख्थे । ११ कक्षापछि उनले कवितालेखनमा थप समय दिन थाले । सुरुवाती दिनमा आफ्नो पीडा, भावना पोख्न कविता लेख्न थालेका उनले बिस्तारै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयलाई कवितामार्फत भन्न थाले । ‘सुरुवाती दिनमा मेरो लैंगिक पहिचान, यौनिकताको बारेमा भन्न सक्दिनथेँ । मैले आफ्नो कुरा कसैलाई भन्न नसक्दा र मजस्तो मान्छे कोही नभेट्दा आफ्नो पीडा डायरीमा टिप्थेँ । जुन कविता बन्थे । तर सुनाउँदिनथेँ,’ उनी भन्छन् ।

कवितामा जम्न थालेपछि उनले नारीवादी कविता लेख्न थाले । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसँग जोडिसकेपछि समुदायभित्रको विविधता, अधिकार, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार लिएर कविता लेख्न थाले । समाज र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबिचको द्वन्द्वबारेमा पनि कविता लेखे । अहिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरण, अधिकार, वकालत, सचेतनासँग सम्बन्धित भएर कविता लेख्छन् ।

उपन्यास, पटकथा लेखनमा पनि उनको रुचि छ । तर, कवितालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । कविता जहिल्यै नरम हुनुपर्छ भन्ने भाष्य बनाइएकाले यस्तो भाष्य तोडेर अगाडि बढ्न उनी लागिपरेका छन् । ‘अहिले पनि साहित्य भनेको नरम, कमलो हुनुपर्छ । अलिकति दुखेको हुनुपर्छ भन्ने भाष्य निर्माण भएको छ । साहित्य सशक्त, बोल्ड, लाउड अनि कडा पनि हुन सक्छ । कवितामार्फत केही परिवर्तन गर्न सकिन्छ भनेर लागेको छु,’ उनी भन्छन् ।

साहित्यमार्फत महिला वा पुरुष मात्र होइन, अरू समुदायको पनि आवाज बोल्नुपर्छ भन्ने उनको मत छ । अहिलेसम्मको साहित्यले समावेशी आवाज नउठाएको भन्दै उनी भन्छन्, ‘साहित्य संवेदनशील विषय भए पनि धेरै पुस्तकमा नपुंसक, छक्का, हिजडाजस्ता अपमानजनक शब्द प्रयोग भएको पाइन्छ । हामीले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन भएको छ कि भन्ने कुरा ख्याल गर्नुपर्छ ।’ आगामी दिनमा कवितासंग्रह र उपन्यास प्रकाशित गर्ने लक्ष्य बोकेर उनी कलम चलाइरहेका छन् ।

अंग्रेजीमा कविता लेख्ने विराट 

विराटविजय ओझाले करिब एक दशकदेखि कविता र कथामा कलम चलाइरहेका छन् । उनी विद्यालय पढ्दाखेरि  नै अतिरिक्त क्रियाकलापमा सहभागस् हुने क्रममा कथा लेख्थे । पुरस्कार जित्थे । इटहरी छाडेर काठमाडौं आएपछि उनी थप साहित्यमा क्रियाशस्ल रहे । सुरुवाती दिनमा सामाजिक सञ्जालमै सीमित रहेको उनका कविताले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितासमेत जितिसकेको छ । ‘म इटहरीमा हुर्किएँ । त्यहाँ साहित्यलेखनको कल्चर थिएन । तैपनि स्कुल पढ्दादेखि नै कथा लेख्थेँ,’ ओझा सुनाउँछन्, ‘काठमाडौं आएपछि कविता लेख्न थालेँ । सोसल मिडियामा राख्न थालेँ । केहीले कविता राम्रो छ निरन्तरता दिनु भनेपछि लेखिरहेँ ।’

विराटले धेरैजसो कविता अंग्रेजी भाषामा लेखेका छन् । तीमध्ये ५, ६ वटा प्रकाशित छन् । बाँकी अप्रकाशित नै छन् । ती कवितामा उनले विशेष गरी लैंगिक तथा यौनिक समुदायका विषय नै प्रखर मात्रामा उठाएका छन् । योबाहेक पितृसत्ता, महिलावाद, पुरुषत्वमाथि धावा बोल्दै कविता लेखेका छन् । ‘समाजलाई झक्झकाउने, समाज परिवर्तन गर्नका लागि साहित्य महत्वपूर्ण माध्यम हो । तर, नेपाली साहित्यमा हाम्रो समुदायलाई त्यति स्पेस छैन,’ उनी भन्छन् । हालसम्म उनले एक सयभन्दा धेरै अंग्रेजी भाषामा कविता लेखेका छन् । केही नेपाली कविता लेखेका पनि छन् । तर, ती अप्रकाशित छन् । भविष्यमा संग्रह प्रकाशित गर्ने योजनामा उनी छन् ।

शक्तिशाली कविता लेख्ने रोजन

कवि रोजन परिवारको एउटा कविताको शीर्षक छ, ‘शरीरको बजार ।’ सो कविताको एउटा पंक्ति यस्तो छ :

दिनभरि ऊ सानो अँध्यारो कोठामा थुनिन्छे ।
भित्तामा देखिएका चिराजस्तै, 
उसको जीवन पनि चिराचिरा भएको छ ।
बाहिरको घामले ढोका ढकढक्याउँछ, 
तर उसलाई छुन पाउँदैन 
बाहिरको घाम र हावा
मानौँ उसका लागि बनाइएका होइनन् ।

त्यस कवितामा उनको सुन्दर शिल्प र शक्तिशाली विचार भेटिन्छ । कविता पढ्दा भन्न सकिन्छ, उनी सिकारु कवि नभई निकै वर्षदेखि साधनारत कवि हुन् । यी कविताबाहेक उनका ‘अस्तित्वको खोजी’, ‘बटुवाको भेट’, ‘एक चोक्टो मासु’, ‘मेरो किड्नी बिक्रीमा छ’, लगायत कविताहरू कविताप्रेमीमाझ चर्चित छन् ।

उनले सुरुवाती दिनमा सामाजिक सञ्जालमा कविता राखे । सुरुमा उनी कवितामा आफ्नो भावना पोख्थे । अहिले भावनासँगै अधिकार, प्रश्न पनि गर्छन् । ‘आफूलाई चिन्नुभन्दा अघि आफ्नो मनको भावना लेख्न थालियो । बुझ्दै गएपछि हाम्रो समुदायका बारेमा पनि लेख्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘मैले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयको बारेमा कविता लेखेर सामाजिक सञ्जालमा राख्न थालेपछि यो विषयमा लेख्नुपर्छ भनेर केही कविबाट हौसला भयो त्यसपछि निरन्तर लेखिरहेको छु ।’ 

विभिन्न राष्ट्रियस्तरको कविता प्रतियोगितामा पुरस्कृत भइसकेका उनले हालसम्म एक सयभन्दा धेरै कविता लेखिसकेका छन् । जीवनको एउटा समयमा पुगेर संग्रह निकाल्ने सोच पनि बनाएका छन् । 

संग्रह निकाल्ने योजनामा विन्दु 

विन्दु परियारले पनि कविता लेख्न थालेको करिब एक दशक भयो । कविताबाहेक उनी लैंगिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा लेख पनि लेख्छिन् । उनका लेख राष्ट्रिय दैनिकमा प्रकाशित हुन्छन् । सुरुवाती दिनमा दलित, सीमान्तकृतका मुद्दामा आफ्नो भावना अभिव्यक्त गर्ने माध्यम बनाएकी उनले हाल लैंगिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा कविता लेख्दै आएकी छिन् । ‘मैले विद्यालय तहदेखि नै कविता लेख्न थालेकी हुँ । सुरुवाती दिनमा दलितका मुद्दामा आफ्नो भावना लेख्थेँ । बिस्तारै आफ्नो समुदायका बारेमा पैरवी गर्न थालेपछि सोहीअनुसारको कविता लेख्दै आएकी छु,’ उनी भन्छिन् ।

विन्दु पनि आफ्ना कविता सामाजिक सञ्जालमा राख्छिन् । विभिन्न प्रतियोगितामा पनि कविता पठाउँछिन् । आफ्नो समुदायको तर्फबाट अहिलेसम्म कुनै पनि कवितासंग्रह प्रकाशित नभएकाले उनी संग्रह प्रकाशित गर्ने तयारीमा छिन् ।

सुझावित समाचार